एउटा सानो काम थियो, न्युरोडमा। साथमा थिए, साथी किशोर खतिवडा। हाम्रो काम पनि सकियो। त्यसपछि के गर्ने भन्ने भयो। साथीले भने, ‘म त कहिल्यै धरहरा चढेको छैन।’ समय पनि भएकोले हामीले धरहरा चढ्ने निधो गर्यौं।
दुईपटक धरहरा चढिसकेकी म, तेस्रोपटक चढ्दै थिएँ।किशोर पहिलोपल्ट। साढे ११ बजेतिर हामी धरहरा चढेका थियौँ। धरहरा चढ्दा त्यहाँको सिँढी गन्दै चढेका थियौँ।
सिँढी गन्दै त के भनौँ, त्यहाँ सिँढी नम्बर लेखिएकै छ, त्यसैको कुरा गर्दै नौ तलामाथिको बरन्डाबाट देखिने दृश्यका बारेमा पनि कुरा गर्दै त्यहाँ रहेका एक सय ८८ सिढी उक्लिएर बरन्डामा पुग्यौँ।
…
बरन्डाको रेलिङमा पुगेर एक फन्को लगायौँ। पहिले सिटी सेन्टरतिर फर्केर काठमाडौँको दृश्य हेर्यौँ। त्यताबाट बढी हावा आएकाले स्थान परिवर्तन गर्दै टुँडिखेलतिरको दृश्य हेर्न त्यसतर्फ लाग्यौँ , दृश्य हेर्न पनि पाइने अनि हावाले पनि दुःख नदिने। मैले साथीलाई दृश्यावलोकन गराइरहेको थिएँ।
‘यतिखेर भुइँचालो आइहाल्यो भने के गर्ने होला हगि ?’ साथी र मबीच ठट्टा भयो। यति ठट्टा मात्रै के भएको थियो, धरहरा हल्लन सुरु भइहाल्यो।
मैले भित्तातिर अडेस लगाएँ, साथी थचक्क बसेर रेलिङ समात्न लागे। भूकम्पको धक्का राम्ररी अनुभूति हुन नपाउँदै हामी तल खस्न लाग्यौँ । हामी खस्दै थियौँ । त्यति बेला मलाई लाग्यो, अब म मर्दै छु।
मानिसलाई मर्न कहाँ मनपर्दो रहेछ र? केही गरौँ, अझै बढी बाँचौँ भन्ने इच्छा भएको मानिसलाई मर्न मन पर्ने कुरै भएन। मर्न मन लागेन। ‘हे भगवान ! मलाई बचाऊ, म बाँच्न चाहन्छु’, यसरी मैले भगवानसँग प्रार्थना गरेँ। अनि भाइबहिनीलाई सम्झेँ, ‘मेरो यस्तो अवस्था छ, उनीहरूको अवस्था कस्तो होला ? यतिखेर उनीहरू के गरिरहेका होलान्?’
…
धन्य, धरहरा टुँडिखेलतिर झर्यो, जतातिर हामी फर्केका थियौँ। मर्छु भन्ने त लागेकै थियो, कस्तो भयो भने जसरी हामी पिङ खेल्दा माथिबाट तलतिर झर्छौं, त्यस्तै अनुभूति लिएर झर्यौँ। यदि हामी उत्तानो परेको अवस्थामा झरेको भए टाउकोको पछाडिको भाग र मेरुदण्ड खत्तम हुन्थ्यो, यसरी बोलिरहन पाउने थिएनौँ।
तल झर्दा रेलिङभित्र थिएँ म। साथी किशोर अलि अर्धचेतमा थिए। त्यतिखेरै एक व्यक्ति हामीतिर दौडदै आए, किशोरलाई पनि मैले चिच्याएर भने, ‘यो रेलिङ हटाइदेऊ।’ उनीहरूले त्यसै गरे। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
प्रतिक्रिया