काठमाडौ, १० बैशाख । नेपाली काग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले सहमतिमा कति प्रदेश रहने भन्ने निर्धारण गरेर प्रदेशको सिमाङकनको जिम्मा आयोगलाई दिने र नामाङकन प्रदेश सभालाई दिने आफूहरुको पछिल्लो प्रस्तावमा दलहरुवीच छलफल भईरहेको बताएका छन । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले यो विषयमा तीस दलीय मोर्चामा छलफल गरेर जवाफ दिने प्रतिबद्धता एमाओवादी अध्यक्ष प्रचण्डले ब्यक्त गरेको जानकारी दिदै मोर्चामा अलग अलग विचार भएकाहरु रहेकोले सहमतिको बाटोमा समस्या आईरहेको बताए । क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा प्रवक्ता बडुले छ प्रदेश मध्ये पूर्वी तराईका तीन र पश्चिम नेपालका दुई जिल्लालाई पहाडसँग जोड्ने बाहेक चार जिल्लाको सिमाङकन पनि आफै गर्नुस भनेर आफूहरुले प्रचण्डसँग प्रस्ताव राखेको बताउँदै पहाड र तराईलाई समग्रमै छुट्टयाउने पक्षमा आफूहरु नरहेको स्पष्ट पारे । उनले अहिलेसम्म सहमति नभएको विषय संघीयता मात्रै भएको र त्यसमा पनि संख्यामा लगभग सहमति भईसकेको र नामाकरण प्रदेश सभालाई दिनेमा विमति नरहेकोले सिमाङकनलाई अहिलेसम्म भएका छलफलका आधारमा विज्ञहरुले टुङग्याउने गरी अहिले सहमति भएका विषयलाई मस्यौदा निर्माणमा लानु पर्नेमा जोड दिए ।
संविधान निर्माण प्रक्रिया निर्णायक चरणमा पुगेको र एमाओवादीको आन्दोलन छाडेर बार्तामा आउने निर्णय सकारात्मक रहेकोले आफूहरुले सहमतिको लागि प्रयत्न गरिरहेको जानकारी दिदै अब पनि यो वा त्यो विकल्पमा छलफल गरेर समय विताउन नहुने बताए । उनले भने–सहमतिको नाममा संविधानसभालाई अनिर्णयमा राखो पहिलो संविधानसभा जस्तै यो पनि संविधान नदिई विघठन हुने हो कि भन्ने चिन्ता कायमै रहेको भन्दै अब सहमतिको नाममा धेरै दिन समय फाल्न सक्दैनौ । प्रचण्डजीले निर्णय गर्न सक्नु हुन्छ तर किन गरिरहनु भएको छैन बुझ्न सकिएको छैन । अब धेरै दिन संविधानसभा अनिर्णयको बन्दी भएर रहन सक्दैन । बडुले विपक्षी मोर्चाले आन्दोलन नै फेरि घोषणा नगरिसकेकोले केही दिनभित्रमै एमाओवादी नेतृत्वको विपक्षी मोर्चा संविधानसभामा फर्किने दावी गर्दै भने–उहाँहरु अर्को संविधानसभामा आउनु हुन्छ । आन्दोलन छाडेर बार्तामा आउनै ठूलो कुरा हो । अब हामीसँग भएको दुई तीहाई सहमतिमा थपेर अघिकतम सहमति बनाउने हो । उनले संविधान नआउने नै भयो भनेर जनताले नेपाली काग्रेस र एमालेलाई ठूलो दल बनाएको भन्दै अब संविधान जारी नगरी संविधानसभा विघठन हुनै नसक्ने ठोकुवा गरे । यद्यपि उनले समय तोक्दा संविधान बन्न नसकेकोले अब समय तोकेर अघि बढ्न नहुने बताए ।
प्रतिक्रिया