ठोस सहमति नभएको भन्दै माओवादी मोर्चा संविधानसभाको बैठकमा सहभागी नहुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० बैशाख २०७२, बिहीबार १३:३७

काठमाडौं, १० वैशाख । एकीकृत नेकपा माओवादी नेतृत्वको सात दलीय संघीय गणतान्त्रिक मोर्चाले संविधानसभाको बैठकमा सहभागी नहुने निर्णय गरेको छ । सात दलीय मोर्चाको बिहीबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको काठमाडौंको लाजिम्पाटस्थित निवासमा बसेको बैठकले संविधानका चार वटा विवादित विषय मध्ये कुनैमा पनि ठोस सहमति नभएको भन्दै संविधानसभाको बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।

30 delप्रमुख सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेसँगको तीन दिन पहिले बालुवाटारमा भएको छलफलमा एमाओवादीले बैठकमा सहभागी हुने संकेत गरेको थियो । बालुवाटार बैठकमा मोटामोटी सहमति भएका निर्वाचन प्रणाली, न्याय प्रणाली र राज्यको शासकीय स्वरुपलाई अन्तिम रुप दिएर मस्यौदा समितिमा पठाउने तथा संघीयताको विषयमा सहमतिका लागि छलफल जारी राख्ने समझदारी भएको थियो । तर तराई मधेस लोकतान्त्रिक पार्टी, मधेशसी जनअधिकार फोरम नेपाल, सद्भावना पार्टी र संघीय समाजवादीले त्यो समझदारीको विरोध गरेपछि एमाओवादी संविधानसभाको बैठकमा सहभागी नहुने निर्णयमा पुगेको हो ।

संविधानसभाले गएको माघ ११ गते प्रश्नावली प्रस्ताव समिति गठन गरेयता एमाओवादी लगायतका १८ वटा विपक्षी दल शोक प्रस्ताव पारित गर्न वसेका बाहेकका संविधानसभाका बैठकमा सहभागी भएका छैनन् । एमाओवादीको केन्द्रीय कार्यालयको चार दिन पहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको अनौपचारिक बैठकले संविधानसभाको बैठकलाई अब धेरै समय अनिर्णित बनाउन नहुने निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१