काठमाडौं,१० बैशाख । प्रधानमन्त्री सुशील कोइरालाले जाजरकोट लगायत देशका बिभिन्न ठाउँमा देखा परेको स्वाइन फ्लू नियन्त्रण गर्न स्वास्थ्यमन्त्रीलाई निर्देशन दिनुभएको छ । एशिया–अफ्रिका शिखर सम्मेलन स्थल इण्डोनेशियाको बिहीबार बिहान उहाँले स्वास्थ्य मन्त्री खगराज अधिकारीलाई टेलिफोन गर्नुभएको हो । प्रधानमन्त्रीले फोनमार्फत् मन्त्री अधिकारीलाई जाजरकोट लगायत मुलुकका विभिन्न भागमा देखापरेको स्वाइन फ्लू रोकथाममा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको थियो । जाजकोटमा फैलिएको स्वाइन फ्लू नियन्त्रणमा हुन नसकेको र अन्य जिल्लामा पनि रुघाखोकी र ज्वरोका बिरामी बढ्दै गएको थाहा पाएपछि प्रधानमन्त्रीले सो निर्देशन दिनुभएको हो ।
गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मुख्य सचिव लीलामणि पौड्यालको संयोजकत्वमा स्वास्थ्य र रक्षा सचिव रहेको प्रकोप नियन्त्रण समन्वय समिति बनाएको थियो। यसअघि प्रधानमन्त्री कोइरालाले स्वास्थ्यमन्त्री खगराज अधिकारी, स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठ,स्वास्थ्य सेवा विभागका महानिर्देशक डा।सेनेन्द्र उप्रेती र इपिडियोमोलोजी महाशाखाका प्रमुख डा.बाबुराम मरासिनीलाई प्रधानमन्त्रीको कार्यालयमा बोलाएर प्रकोप रोक्न युद्धस्तरमा काम गर्न निर्देशन दिइसक्नु भएको थियो । प्रधानमन्त्रीसँग बिहीबार बिहान टेलिफोन वार्ताको क्रममा स्वास्थ्यमन्त्री खगराज अधिकारीले प्रकोप नियन्त्रणका लागि हालसम्म भएका प्रयासहरुको जानकारी दिनु भएको थियो । प्रकोप नियन्त्रणका सम्बन्धमा भएका प्रयास र बिरामीहरुको अवस्था बुझ्न मुख्य सचिव लीलामणि पौड्याल र स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठ बिहीबार जाजरकोट जाने कार्यक्रम छ ।
प्रतिक्रिया