गोरखाबजार, ९ वैशाख। गोरखाको पर्यटकीय पदमार्गमा पर्यटकको सुरक्षाको व्यवस्था गर्न पर्यटन सम्बद्ध संस्थाले माग गरेका छन् । पर्यटकको चाप बढ्दै गएको मनास्लु पर्यटन पदमार्ग र रुवीनाला पर्यटन पदमार्गको ठाउँ–ठाउँमा पर्यटक लुटिएको भन्दै धार्चे मनास्लु पर्यटन समितिले सुरक्षाको प्रबन्ध गर्न जिल्ला प्रशासन कार्यालय गोरखा र जिल्ला प्रहरी कार्यालय गोरखासँग अनुरोध गरेको छ । समितिका अध्यक्ष साने गुरुङले आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरी र ठाउँ–ठाउँमा प्रहरी चौकी राख्नुपर्ने बताए । सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेल र प्रहरी नायब उपरीक्षक अर्जुनचन्द ठकुरीलाई आज एक पत्र बुझाउँदै अध्यक्ष गुरुङले पर्यटकको सुरक्षामा ध्यान दिन माग गरे । पर्यटकहरु लुटिने क्रम बढ्दै गयो भने पर्यटन क्षेत्रमा दीर्घकालीन असर पुग्ने उनको भनाइ छ ।
अहिले मनास्लु पदमार्गको आरुघाट, आर्खेत, सिर्दिवासको फिलिम र सामागाउँमा मात्रै प्रहरी चौकी छ । १२ दिनदेखि १८ दिनसम्मको पदयात्राका क्रममा प्रहरी नभेटिँदा पर्यटकले असुरक्षित महसुस गरेका स्थानीयवासी बताउँछन् । त्यस्तै रुवीनाला पर्यटन पदमार्गको सुरुको बिन्दु बारपाकमा मात्रै प्रहरी चौकी छ । अन्य ठाउँमा प्रहरी नहुँदा धार्चेलगायत क्षेत्रमा चोरीको घटना बढेको छ । यसैबीच, जिल्ला प्रहरी कार्यालयले पदमार्गमा पर्यटक प्रहरी राख्ने तयारी गरेको छ । प्रनाउ ठकुरीकाअनुसार पदमार्गको ११ ठाउँमा पर्यटक प्रहरी राखिनेछ । तत्कालीन प्रहरी नायब उपरीक्षक रमेश थापाले पदमार्गमा पर्यटक प्रहरी राख्न प्रक्रिया सुरु गरेका थिए । मनास्लु पदमार्गमा बर्सेनि छ हजारको हाराहारीमा विदेशी पर्यटक घुम्न जाने गरेका छन् । रासस
प्रतिक्रिया