धादिङ,९ बैशाख । धादिङको झ्याप्ले खोलामा भएको बस दुर्घटनामा मृत्यु भएका भारतीय तीर्थयात्री एउटै गाउँका भएको खुलासा भएको छ। पशुपतिनाथ मन्दिर दर्शन गरी भारत फर्किँदै गरेका करिव ४५ तीर्थयात्री सवार बस बुधबार विहान सवा साता बजे झ्याप्ले खोलामा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो। १४ मृतक भारतको गुजरात प्रदेश अन्तरगत सुरेन्द्रनगर जिल्लाको होटुवान भन्ने स्थानका रहेको उद्धारमा संलग्न सशस्त्र प्रहरीले जनाएको छ। मृत्यु हुनेहरुमा गणेश शंकर छतवारा, गणेश शिवा छतवारा, इश्वरी सामजी छतवारा, दलपत छतवारा, गंगाराम छतवारा, नरसिं प्रोपत छतवारा, जुस्वेन छतवारा छन्। यसैगरी कन्चनवेन छतवारा, सविता वेन छतवारा, गौरी वेन छतवारा, लिला वेन छतवारा, चम्पावेन छतवाराको पनि दुर्घटनामा मृत्यु भएको छ।
दुर्घटनामा मृत्यु भएका बस सहचालक अल्फेज पटेल पनि होटुवान जिल्लाका हुन्। उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। अन्यको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो। दुर्घटनामा दुई दर्जन भन्दा बढी घाइते भएका छन्। घाइतेहरुको राजधानीका विभिन्न आठ अस्पतालमा उपचार भइरहेको छ।काठमाडौंबाट गोरखपुर जाँदै गरेको बस ओरालो सडकमा ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । पशुपतिनाथ दर्शन गरी फर्केका तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको हो । विहानै काठमाडौंको तिलगंगास्थित सत्यसाई धर्मशालाबाट छुटेको बसमा चालक दलसहित ४५ जना थिए । बस चालक पनि घाइते भएका छन् । बस रुखमा झुण्डिएको छ । उद्धार जारी छ । मृतकका सनाखत भएपछि शव भारतीय दूतावासलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ । सुनौलीबाट काठमाडौं आएका ८० जना तीर्थयात्री हिजो सो धर्मशालामा बसेका थिए । उनीहरु अलग अलग दुई वटा बसमा छुटेका थिए ।
प्रतिक्रिया