धादिङ,९ बैशाख । नौबिसेमा बस दुर्घटना हुँदा १७ जना भारतीय तिर्थयात्रुको मृत्यु भएको छ। एक महिना २ दिन लगाएर नेपालका विभिन्न तिर्थस्थल भ्रमण गरी फर्कने क्रममा उनीहरु चढेको बस आज बिहान त्रिभुवन राजपथअन्तर्गत पर्ने नौबिसको झाप्रेखोला र सिस्नेखोलाबीचको घुम्तीबाट करिब २ सय मिटर तल खसेको हो। दुर्घटनामा १४ जनाको घटनास्थलमै र ३ जनाको उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते २८ जनालाई उपचारका लागि काठमाडौं ल्यायएको छ । घटनास्थलमा नेपालस्थित भारतीय दूतावासका पदाधिकारीहरु पनि पुगेका छन् । मृत्यु हुनेमा देवकी भाई सत्यारा, गणेश भाई सत्यारा, देगाराम भाई सत्यारा, नरसी भाई सत्यारा, गंगाराम भाई सत्यारा र गनपथ भाई सत्यारा रहेका छन् । यस्तै, जसविन सत्यारा, लिलाविन सत्यारा, गौरीदेव जीवन, गौरी विन, कञ्चन विन रहेका छन् । अरु मृतकको भने पहिचान हुन बाँकी छ ।
हनुमान ढोका काठमाडौंबाट समेत प्रहरी टोली घटनास्थलमा खटिएको छ । घाइतेको काठमाडौंका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । काठमाडौंबाट गोरखपुर जाँदै गरेको बस ओरालो सडकमा ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । पशुपतिनाथ दर्शन गरी फर्केका तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको हो । विहानै काठमाडौंको तिलगंगास्थित सत्यसाई धर्मशालाबाट छुटेको बसमा चालक दलसहित ४५ जना थिए । बस चालक पनि घाइते भएका छन् । बस रुखमा झुण्डिएको छ । उद्धार जारी छ । मृतकका सनाखत भएपछि शव भारतीय दूतावासलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ । सुनौलीबाट काठमाडौं आएका ८० जना तीर्थयात्री हिजो सो धर्मशालामा बसेका थिए । उनीहरु अलग अलग दुई वटा बसमा छुटेका थिए ।
प्रतिक्रिया