काठमाडौं,७ बैशाख । २४ जनाको ज्यान जानेगरी महामारी फैलिएको जाजरकोटमा विरामीको उपचार गर्न डा.गोविन्द केसी त्यस तर्फ हिँडेका छन्। केसी आज विहान भाडाको बस मार्फत जाजरकोट प्रस्थान गरेका हुन्। आइतबारनै जाजरकोट जान लागेका केसीलाई तीन पटक उल्टी भएपछि आज हिँडेका हुन्। उनले आइतबारनै औषधी त्यस तर्फ पठाइसकेका छन्। १२ दिन लामो अनसन पछि स्वास्थमा सुधार नआउँदै केसी जाजरकोट जान लागेपछि सहकर्मी चिकित्सकहरुले नजान आग्रह गरेका थिए। डा.केसी यस अगाडि फिलिपिन्स, हाइटी, पाकिस्तान र भारतमा महामारी आउँदा समेत उपचार गर्न पुगेका छन्। उनले नेपालका ७५ जिल्लामा विभिन्न समयमा स्वास्थ शिविर गरेका छन्।
२०६६ सालमा जाजरकोटमा झाडापखालाको महामारी फैलिँदा १ महिना सम्म गाउँमा बसेर उपचार गरेका थिए। अर्छानी, टालेगाउँबाट सुरु भएको रोग ६ गाविसमा फैलिएर ११ जनाको मृत्यु भएपछि मात्र सरकारको आँखा पुगेको थियो। त्यसपछि पनि स्वास्थ्यकर्मीलाई कार्यक्षेत्र खटाएर बिरामी उपचार गर्नमा तदारुकता नदेखाउँदा महामारी काबुमा आउन सकेन। महामारीले हालसम्म २४ जनाको ज्यान गइसकेको जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ। दुई हजारभन्दा बढी अझै बिरामी छन्, जसले राम्रो उपचार पाउन सकेका छैनन्। ‘यो महामारी नियन्त्रण गर्न सरकारले ठूलो टोली खटाएर घर–घरमा औषधि पुर्याबउने व्यवस्था गर्नुपर्छ,’ स्थानीय नागरिक अगुवा केशवजंग शाहले भने, ‘एक–दुई दिन गाउँमा गएर शिविर गर्दै फर्कनेभन्दा बिरामी खोज्दै हिँड्ने व्यवस्था गर्न सके मात्र महामारी नियन्त्रणमा आउन सक्छ।’
प्रतिक्रिया