काठमाडौं, ६ बैशाख । पर्यटन पत्रकारहरुको छाता संगठन नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ–नेपाल)को लोगो विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराइने भएको छ । अनाथ बालबालिकाहरुको समस्या उजागर गर्ने उद्देश्यका साथ सगरमाथा आरोहण अभियानमा लाग्नुभएका नेपाली आरोही कामे मगरले मञ्चको लोगो सगरमाथामा पु¥याउन लाग्नुभएको हो ।
रोयल्टी तिरेर सगरमाथा आरोहण गर्ने पहिलो नेपाली आरोहीसमेत रहनुभएका मगर आउँदो अप्रिल २२ तारिकमा त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । कमलादीस्थित मञ्चको कार्यलयमा आइतबार आयोजित एक विशेष समारोहबीच सगरमाथा चुचुरोमा फहराउनको लागि मञ्चको लोगो अंकित झण्डा आरोही मगरलाई हस्तान्तरण गरियो ।
शुभकामना प्रदान गर्न आयोजित उक्त कार्यक्रममा संयुक्त पर्यटन समन्वय समिति (जेटीसीसी)का संयोजक डिबी लिम्बुले कामे मगरले थालेको कार्य प्रेरणादायी रहेको बताउँदै यसलाई सफल पार्नका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले कामे मगरको अभियानमा आफ्नो व्यक्तिगत र संस्थागत सहयोग गर्ने बचन बद्धतासमेत व्यक्त गर्नुभयो ।
मञ्चका अध्यक्ष शिव अधिकारीले कामे मगरले अघि बढाइरहेको अभियान सिमित व्यक्ति र समुदायको लागि मात्रै नभएर सिंगो देशको गरिब जनताको पक्षमा भएकोले सबैले साथ सहयोग दिनुपर्ने बताउनुभयो । यो अभियानलाई सफल पार्नका लागि आफुहरुले संस्थागत सहकार्य गर्दै सञ्चार क्षेत्रको माध्यमबाट हरेक प्रकारको भूमिका खेल्ने पनि बताउनुभयो ।
सोलु बालकल्याण अनाथालयका अध्यक्षसमेत रहनुभएका मगरले आफ्नै व्यक्तिगत खर्चमा सोलु बालकल्याण अनाथलय स्थापना गरेर विगत दश वर्षयता अनाथ बालबालिकाको हेरचाह गर्दै आउनुभएको छ । हाल उहाँको संस्थाले २५ जना अनाथ बालबालिकाको हेरचाह गर्दै आइरहेको छ । ‘तिनै बालबालिकाको मुद्दालाई प्रकाशमा ल्याउनका लागि तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा अनाथ बालबालिकाको दुरुह स्थितिबारे जानकारी गराउनका लागि सगरमाथा आरोहण गर्न लागेकोे छु’ कार्यक्रममा बोल्दै मगरले भन्नुभयो ‘नेपालमा अनाथ बालबालिकाको अवस्था निकै नाजुक छ, उनिहरुलाई नत समाजले हेर्छ नत सरकारले नै उचित बन्दोवस्त गर्न सकेको छ । तसर्थ तिनै सहयोगविहिन बालबालिकाको कठिन अवस्थाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सूचना प्रवाह गर्न मैले सगरमाथाको आरोहण गर्न लागेको हुँ ।’
कार्यक्रममा पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पत्रकारहरु तथा व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो । सगरमाथा आरोहणका लागि गत वर्ष आधार शिविरसम्म पुगेपनि भीषण हिमपहिरोका कारण मगर आधाशिविरबाट फर्कनुभएको थियो । नेपालका अधिकांश हिमाल आरोहण गरिसक्नुभएका मगरले सगरमाथाको सफल आरोहण गरेपछि सातै महादेशका उच्च हिमालहरुको आरोहण गर्ने योजना बनाउनुभएको छ ।
प्रतिक्रिया