लहान, ६ वैशाख । यस वर्ष सिरहा जिल्लामा गहुँको उत्पादनमा वृद्धि भएको छ । अनुकूल हावापानी र रोग किराको प्रकोप कम भएकाले गहुँबाली उत्पादनमा वृद्धि भएको हो । यस वर्ष कुल खेतीयोग्य जग्गामध्ये १५ हजार ७५० हेक्टर क्षेत्रफलमा गहुँबाली लगाएको थियो । यस वर्ष प्रतिहेक्टर १ दशमलब ९ मेट्रिक टनका दरले २९ हजार ९२५ मेट्रिक टन गहुँ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय सिरहाका योजना अधिकृत योगेन्द्र यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार सिरहामा उखुखेती कार्यक्रम सञ्चालन भएकाले यस वर्ष सिरहामा कम क्षेत्रफलमा गहुँखेती भएको छ । गत वर्ष सिरहामा १८ हजार ५०० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएको थियो । गत वर्ष प्रतिहेक्टर १ दशमलव ८ मेट्रिक टनका दरले ३३ हजार ३०० मेट्रिक टन गहुँ उत्पादन भएको थियो । यस वर्ष समय समयमा वर्षा भएको, मौसम अनुकूल भएको र रोग किराको प्रकोप कम भएकाले गहुँ उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय सिरहाका प्रमुख प्रदीप ठाकुरले जानकारी दिनुभयो ।
प्रतिक्रिया