जाजरकोट, ६ बैशाख । जाजरकोटमा फैलिएको मौसमी रुघा, खोकी, ज्वरो र स्वाइन फ्लु नियन्त्रणमा सरकार उदासिन बनेको आरोप स्थानीयले लगाएका छन् । दुर्गम भेगमा औषधी र स्वास्थ्यकर्मी अझै नपुगेको उनीहरुको गुनासो छ । सुरुमा प्रकोप देखिएका गाविसमा नियन्त्रणको प्रयास सफल नहुंदै अरु आधा दर्जन गाविसमा रोग फैलिएको छ । दसेरा, गर्खाकोट, आर्छामी, मचकोट लगायत आधा दर्जन गाविसमा प्रकोप फैलिएको स्थानियले बताएका छन् । स्वास्थ्य संस्थामा पुग्दा पनि उपचार नपाएको गुनासो स्थानियको छ । जाजरकोटमा फैलिएको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २४ पुगेको छ । यसैबीच जाजरकोटमा फैलिएको प्रकोपबाट हालसम्म २१ जनाको मात्रै मृत्यु भएको स्वास्थ्य सेवा बिभागको इपिडिम्युलोजी तथा रोग नियन्त्रण महाशाखाले दावी गरेको छ ।
महाशाखाका अनुसार जिल्लाका कुल ३ हजार ८८ जना विरामी मध्ये २५ प्रतिशतलाई मात्रै स्वाइन् फ्लुसंग सम्बन्धित लक्षण देखिएको छ । जाजरकोटमा महामारीको रुप लिएको रुघाखोकी र स्वाइन् फ्लु एक साता भित्रै नियन्त्रणमा आउने स्वास्थ्यमन्त्री खगराज अधिकारीले दावी गरेका छन भने राजधानीमा आयोजित एक अन्तक्रियामा स्वास्थ्य सचिव शान्ता बहादुर श्रेष्ठले जाजरकोटका ६ गाविसमा फैलिएको महामारी नियन्त्रणमा आइसकेको बताएका छन् । बिरामीको संख्या क्रमश घट्दै गएको समेत सचिव श्रेष्ठले जानकारी दिएका छन् । सरकारले प्रकोप प्रभावित स्थलमा पाँंच जना चिकित्सकसहित ३५ जना स्वास्थ्यकर्मी परिचालन गरेको जनाएको छ ।
प्रतिक्रिया