वीरगन्ज,४ बैशाख । कांग्रेसकी केन्द्रिय सदस्य सुजाता कोइरालाले आसन्न महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । ‘सभापति शुसील कोइरालाले मेरो चित्त बुझाएनन् भने उनीविरुद्ध म पनि उम्मेदवारी दिन्छु’ वीरगञ्जमा शुक्रबार प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले भनिन्, ‘सभापतिले उम्मेदवारी नदिए अरु कसैले भने पनि म मान्नेवाला छैन ।’ पार्टी सभापतिका लागि आफु योग्य रहेको भन्दै उनले अहिलेका शीर्ष नेताहरुसँग प्रतिस्पर्धा गर्न पनि आफु सक्षम रहेको दाबी गरिन् । कोइरालाले गुटबन्दीका कारण पार्टी धरासायी बन्दै गएको पनि बताइन् ।
उनले पार्टी भित्रको गुटबन्दी हटाउन कार्यकर्ताहरुले एक भएर नेताहरुलाई दबाब दिनुपर्ने बताइन् । पार्टीको निर्णायक तहमा महिलाहरुको ३३ प्रतिशत सहभागिता हुनैपर्ने बताउँदै उनले आसन्न महाधिवेशनपछि कांग्रेसले नयाँ विचार लिएर जनतामाझ जानुपर्नेमा जोड दिइन् । संविधान निर्माणका सन्दर्भमा बोल्दै नेतृ कोइरालाले सकेसम्म सहमति नभए प्रकृयामा गएर संविधान जारी गरिने ठोकुवा गरिन् । ‘अब सहमतिको रटानमा मुलुकलाई धेरै समयसम्म अनिर्णयको बन्दी बनाउनु हुँदैन’, उनले भनिन्, ‘प्रकृयामा गएर भएपनि संविधान बनाउनैपर्छ, नत्र अहिलेसम्मका उपलब्धि गुम्छन् ।’ उनले संविधान जारी नभएसम्म कांग्रेस–एमालेबीचको गठबन्धन नटुट्ने दाबी गरिन् । राजनीतिक अस्थिरता अन्त्यका लागि संविधान जारी गर्नुपर्नेमा उनको जोड थियो ।
प्रतिक्रिया