भीमदत्तनगर,४ बैशाख । कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा आजदेखि गैंडा गणना सुरु भएको छ। शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले भने,’हप्ता, दश दिनमा गणना गरिसक्छौँ, गणनाका लागि स्थानीय कर्मचारी टोली नै खटिन्छ।’ गणना कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष र विश्व वन्यजन्तु कोष, तराई भू–परिधि कार्यक्रमको सहकार्य रहेको आरक्ष कार्यालयले जनाएको छ। सो कार्यालयले दिएको जानकारीअनुसार गत वर्षको गणनामा आरक्षमा आठवटा एकसिङ्गे गैंडा भेटिएका थिए। नेपालमा सन् १९९४ देखि प्रत्येक चार वर्षमा गैंडा गणना हुँदै आएको छ। प्रत्येक गैंडाको टाउको गणना गरिने यस विधिबाट जङ्गलमा गैंडाबाहेक अन्य वन्यजन्तुको जीवनशैली, चोरी सिकारीको अवस्था, आहार तथा पानीको अवस्थाका बारेमा समेत थाहा पाइने ढकालको भनाइ छ। रासस
प्रतिक्रिया