सौर्य प्रविधिबाट खानेपानी आयोजना विस्तार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ जेष्ठ २०७१, बिहीबार १२:२९

इलाम, १ जेठ ।
खानेपानीको पहुँच नपुगेका जिल्लाका दक्षिणी क्षेत्रका गाविसमा सौर्य प्रणाली जडान गरी खानेपानी विस्तार गरिएको छ । खानेपानी नपुगेका दानाबारी, महमाई गाविसमा सौर्य प्रविधिबाट ग्रामीण बस्तीमा खानेपानी पु¥याएको हो ।

खानेपानी तथा सरसफाइ क्षेत्रमा क्रियाशील नामसालिङ सामुदायिक विकास केन्द्र (एनसिडिसी) को प्राविधिक सहयोग, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक लगानी तथा समुदायको श्रमदानमा महमाई–२ र ३, दानाबारी–९, महमाई–३ र महमाई–९ लोसेमा सौर्य प्रणाली जडान गरी खानेपानी आयोजना सञ्चालन गरिएको हो ।

महमाई–३ मा ४४ घरधुरीका लागि मूलधारा ग्रामीण सौर्य खानेपानी आयोजना सञ्चालन गरिएको छ । ९६० वाट क्षमताको सोलारमार्फत तलको पानी माथि ल्याई खानेपानी ट्याङ्कीमार्फत समुदायमा वितरण गरिन्छ ।

कुल १७ लाखको लागतमा निर्माण भएको आयोजनाका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले १२ लाख अनुदान प्राप्त भएको एनसिडिसीका कर्मचारी गोविन्द पौडेलले जानकारी दिनुभयो । विद्युत् सेवा नपुगेको, बस्तीबाट तल खानेपानी मुहान भएको, खानेपानीबाट वञ्चित उपभोक्तालाई एनसिडिसीले सौर्र्य प्रविधिमार्फत खानेपानी सुविधा पु¥याउँदै आएको छ ।

महमाई–९ स्थित लोसे भन्ने स्थानमा भञ्ज्याङ खोला ग्रामीण सौर्य खानेपानी आयोजनाबाट ४६ घरधुरीका उपभोक्ता लाभान्वित भएका छन् । “वर्षाैंदेखि खानेपानी अभाव झेल्दै आएको यो गाउँमा खानेपानी आयोजना सञ्चालन भएपछि गाईवस्तुले पनि पेटभरि पानी खान पाएँ”–भञ्ज्याङखोला ग्रामीण सौर्य खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष तुलसीराम सिञ्चुउरीले भन्नुभयो ।

एक हजार १४० वाट क्षमताको सोलार प्यानलबाट पानी तानेर गाउँमा वितरण गरिएको छ । कुल रु १९ लाख ५० हजारमध्ये वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट रु १४ लाख ६२ हजार ५०० प्राप्त भएको र बाँकी स्थानीयले सङ्कलन गरी आयोजना सम्पन्न गरिएको हो ।

आसपास खानेपानीका मुहान नहुँदा करिब डेढ किलोमिटर टाढाबाट गाउँमा पानी ल्याइएको छ । पानीको चरम अभाव रहेको यस गाउँका बासिन्दाले गाईवस्तुलाई केराको दम्चा निचोरेर पानी खुवाउने गरेको वितगको इतिहास सम्झँदै सिञ्चुरी भन्नुहुन्छ–“अब लोसेवासीका दुःखका दिन हराए ।” झापासँग सिमाना जोडिएको यहाँका बासिन्दा पानी अभावमा पेटभरसमेत खान नपाएको दुखेसो पोख्छन् ।

दानाबारी–९ मा ३५ घरधुरीलाई पुग्ने गरी खरबनीमा कालीखोला ग्रामीण सौर्य खानेपानी आयोजना र महमाई–२ र ३ मा डढुवी खानेपानी आयोजना निर्माणाधीन अवस्थामा छन् । कालीखोला आयोजनाका लागि जिल्ला विकास समितिको रु तीन लाख, प्रवद्र्धन केन्द्रको रु १५ लाख र उपभोक्ताको रु एक लाख तथा महमाईमा रु १७ लाखको लागतमा सौर्य खानेपानी आयोजना निर्माणाधीन अवस्थामा रहेका हुन् ।

बाँझो–६ मा ५३ घरधुरीले प्रयोग गर्दै आएको माङमालुङबजार ग्रामीण खानेपानी आयोजना गत वर्षदेखि सञ्चालनमा आएको छ । यस प्रणालीमा सूर्यको प्रकाश र तापले गर्दा सोलारमा विद्युत् उत्पन्न भई मोटरले पानी तान्ने गर्दछ ।

“घाम नलागेको बेला पानी नतान्ने हुनाले उक्त समयका लागि पानी सञ्चिति गरेर राख्न ठूलो ट्याङ्की बनाउनु परेको हो”–एनसिडिसीका प्राविधिक पौडेल भन्नुहुन्छ । उपभोक्ताले कम्तीमा १२ हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरेका छन् ।
सौर्य प्रविधिबाट खानेपानी सेवा विस्तार गर्ने प्रविधि प्रभावकारी देखिएकाले अहिले गाउँ–गाउँबाट माग आउन थालेको एनसिडिसीले जनाएको छ । इलामबाहेक पाँचथरको आरूबोटे, कुरूम्वा र रबीमा सौर्य प्रणालीबाट खानेपानी अभाव भएका गाउँमा आयोजना सञ्चालन गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१