काठमाडौं,३ बैशाख । सूर्य बहादुर थापा धेरै पटक प्रधानमन्त्री हुनेहरू मध्येमा पर्दछन्। यिनी हालसम्म पटक पटक गरी भएका छन्। उनी राजा महेन्द्र, राजा बीरेन्द्र र राजा ज्ञानेन्द्र गरी तीन राजाको शासनकालमा प्रधानमन्त्री भएका थिए। धनकुटा जिल्लाको मुगा गा.बि.समा जन्मेका थापा हाल काठमाडौंको मालीगाउँमा बस्दछन्। हाल यिनी राष्ट्रिय जनशक्ति पार्टीको अध्यक्ष छन्। २०१५ सालमा राजा महेन्द्रबाट संसदको निर्वाचन घोषणा भएपछि गठीत सल्लाहकार सभामा सूर्यबहादुर थापा अध्यक्ष भएका थिए। २०१७ साल पुस १ गते राजा महेन्द्रले संसदीय व्यवस्था अन्त्य गरेर निर्दलीय पञ्चायत व्यवस्था स्थापना गरेपछि यिनी मन्त्री, मन्त्रीपरिषद्को उपाध्यक्ष हुँदै अध्यक्ष सम्म बनेका थिए। पञ्चायतको पहिलो प्रधानमन्त्री (भनिने) यिनै बनेका थिए। राजनीतिक व्यवस्था जस्तोसुकै भए पनि सूर्यबहादुर थापाले उदारवादी राजनीतिक अवधारणालाई सधैँ आफ्नो प्राथमिकतामा राखे। २०३६ सालको जनमत संग्रहअघि नै थापाले नेपालमा चलिरहेको राजदरबार र सिंहदरबारको द्वैध शासन अन्त्य हुनुपर्ने माग गरेका थिए। २०३६ सालको जनमत संग्रहलाई निर्दलीय पञ्चायतको पक्षमा ल्याउन साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरेर चर्चाको शिखरमा रहेका थापाले तत्कालीन राजा वीरेन्द्रसँग समन्वय स्थापित गर्न सकेनन्। राष्ट्रिय पञ्चायतमा उनका विरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा नाटकीयरूपले उनी पराजित भए। प्रजातन्त्र पुनर्स्थापनापछि नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका थापा ज्ञानेन्द्रको शासनकालमा पनि प्रधानमन्त्री भएका थिए। छर-छिमेकका राजनीतिमा सुझबुझपूर्ण समझदारी राख्ने थापा नेपालका केही परिपक्व राजनीतिज्ञमध्ये एक मानिन्छन्।
दिल्लीमा निधन
थापाको बि.स.२०७२ वैशाख २ गते राति निधन भयो। ८८ वर्षको उमेरमा उनको भारतको मेदान्त अस्पतालमा निधन भएको थियो। क्यान्सरमा पिडित उनको उपचारको क्रममा निधन भएको हो। दिल्लीसंग खास सम्वन्ध रहेका मानिएका थापाले अन्तिम श्वासमा पनि दिल्लीमा फेरेका थिए ।
प्रतिक्रिया