स्वास्थ्य सम्बन्धी के हुँदैछ जुम्लामा ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ जेष्ठ २०७१, बिहीबार १२:२१

विनोद शर्मा, जुम्ला १ जेठ ।
जुम्लाको शनिगाउँ गाविस आज कर्णालीकै दोस्रो गाविसका रुपमा पूर्ण खोप गाविस घोषणा हुँदैछ । गाविसमा १३ महिनादेखि २३ महिनासम्मका १ सय १९ जना बालबालिका रहेकोमा सबैले खोपको पाँचै मात्रा पाएपछि एक समारोहका बीच आज पूर्ण खोप गाविस घोषणा गर्न लागिएको हो ।

जुम्लाकै पट्मारा गाविस गएको बैशाख २६ गते कर्णालीकै पहिलो पूर्ण खोप गाविस घोषणा भैसकेको छ । जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले यस आर्थिक वर्षमा १० वटा गाविसलाई पूर्णखोप गाविस घोषणा गर्ने तयारी गरेको छ ।

अब मालिकाबोता, बुम्रमाडीचौर, पाण्डवगुफा, ताम्ती, रारालिही, लाम्रा, गज्र्याङकोट र छुमचौर गाविस पनि घोषणाको तयारीमा छन् । अरु गाविसलाई पनि क्रमश घोषणा गर्दै लैजाने खोप सुपरभाईजर चक्रबहादुर खड्काले जानकारी दिए ।

जिल्लामा ८० प्रतिशत भन्दा बढी बालबालिकामा खोपको पहुँच पुगिसकेको उनको भनाइ छ । जुम्लालाई आगामी तीन वर्ष भित्रमा पूर्ण खोप जिल्ला घोषणा गर्ने लक्ष्य राखिएको बरिष्ठ जनस्वास्थ्य अधिकृत लिला बिक्रम थापाले बताए । पूर्ण खोप जिल्ला घोषणा गर्ने अभियान अन्तर्गत आगामी आर्थिक वर्षमा पनि १०/१० वटा गाविसलाई पूर्ण खोप गाविस घोषणा गरिने उनको भनाइ छ ।

स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप गाविस हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ अभियान चलिरहेको छ । खोपका कारण बाल मृत्युदरलाई एक चौथाइ घटाउन सकिने विभिन्न अध्ययनले देखाएको छ ।

विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह सुरु
आजदेखि जुम्लामा पनि विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह सुरु हुँदैछ । पोषण सम्बन्धी प्रदर्शनी, अन्तरक्रिया कार्यक्रम तथा विद्यार्थीलाई जुकाको औषधि खुवाएर जेठ सात गतेसम्म सप्ताहव्यापी कार्यक्रम गर्न लागिएको हो ।

स्थानीय खाद्य पदार्थको प्रदर्शनीको नेतृत्व आइएनएफ जुम्ला र वल्र्ड भिजन इन्टरनेशनल नेपाल क्षेत्र विकास कार्यक्रम जुम्लाले गर्ने भएका छन् । वल्र्ड भिजनले सादा नेपाल मार्फत ९ वटा गाविसका माध्यामिक विद्यालयमा क्वाँटी बनाएर देखाउने तथा पोषण सम्बन्धी शिक्षा दिने भएको छ ।

त्यस्तै आइएनएफ जुम्लाले कुडारी र भारतीवाडामा रहेको क्लिनिकमा पोषण प्रदर्शनी गर्ने कार्यक्रम तय भएको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । जिल्लाका ३० वटै गाविसका सबै विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको पोषण सम्पर्क व्यक्ति पृथ्वीनाथ योगीले जानकारी दिए ।

तीसवटै गाविसका स्वास्थ्य संस्थामा जुकाको औषधि पुगिसकेको र इन्चार्जले विद्यालयसँग समन्वय गरेर औषधि वितरण गर्ने उनको भनाइ छ । त्यस्तै सप्ताह समापनको दिन अर्थात जेठ ७ गते विद्यालय स्वास्थ्य तथा पोषण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्न लागिएको छ । त्यस्तै ग्रामिण सामुदायिक रेडियो कर्णाली एफएम १०५ टिम्को २ मेगाहर्जले विद्यालय स्वास्थ्य तथा पोषण सप्ताहको प्रचार प्रसार गरिरहेको छ ।

सुरक्षित मातृत्व सम्बन्धी एक महिने अभियान
सुरक्षित मातृत्व सम्बन्धी एक महिने अभियान अन्तर्गत आज कुडारीमा विशेष कार्यक्रम हुने भएको छ । स्वास्थ्याचौकी कुडारीमा गर्भवती जाँच, स्वास्थ्य शिक्षा दिनुका साथै सुरक्षित मातृत्वका बारेमा सचेतनामुलक कार्यक्रम गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

महिलाको गर्भावस्था, सुत्केरी हुँदा र भईसकेपछिको स्वास्थ्य सुरक्षा सम्बन्धमा जनचेतना जगाउने गरी प्रचार प्रसार गर्ने, ¥याली, छलफल लगायतका कार्यक्रम भैरहेको पब्लिक हेल्थ नर्स गँगा महतले बताइन् । यौन तथा प्रजनन् स्वास्थ्य र परिवार नियोजन सेवा बारे पनि जनचेतनामूलक कार्यक्रम हुने उनको भनाइ छ ।

स्वास्थ्यचौकीमा गर्भवती जाँच, स्वास्थ्य शिक्षा दिनुका साथै सन्देशमुलक भिडियो प्रदर्शनी गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सुरक्षित मातृत्व हामी सबैको दायित्व भन्ने नाराका साथमा सञ्चालन भएको अभियानलाई वल्र्ड भिजन इन्टरनेशनल नेपाल क्षेत्र विकास कार्यक्रम जुम्ला, सादा नेपाल, साँग्रीला एशोसिएसन, आइएनएफ जुम्ला कार्यक्रम, हेल्थ फर लाइफ लगायतले सहयोग गर्ने भएका छन् ।

बैशाख १६ गतेदेखि सुरु भएको सुरक्षित मातृत्व सम्बन्धी अभियान आगामी जेठ १५ गतेसम्म सञ्चालन हुने छ । जिल्ला प्रजनन् स्वास्थ्य समन्वय समितिको आयोजनामा जेठ ७ गते जिल्लास्तरमा सचेतनामुलक ¥याली गर्न लागिएको छ । जेठ १५ गते एक महिने अभियानको समिक्षा सहित समापन गर्ने पब्लिक हेल्थ नर्स गँगा महतको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१