पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको शव आज भारतबाट ल्याइदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ बैशाख २०७२, बिहीबार १०:१७

काठमाडौं,३ बैशाख ।  भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत ८८ वर्षीय पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको निधन भएको छ । राप्रपा सहप्रवक्ता किरण गिरीका अनुसार थापाको हिजो राति १० बजेर ५० मिनेट जाँदा मृत्यु भएको हो । आन्द्राको क्यान्सरबाट पीडित थापाको शुक्रवार अप्रेशन गरिएको थियो । अप्रेसनपछि उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि भेन्टिलेटरमा सारिएको थियो । डाक्टरहरूले १५ दिन अस्पतालमा बस्नु पर्ने बताएका थिए । तीन वर्षअघि उनी हृदयाघातबाट सिकिस्त भएका थिए । त्यसपछि बिग्रिएको स्वास्थ्यको उपचार गर्न चैत १५ गते उनी भारत गएका थिए । थापा पञ्चायत र प्रजातन्त्र पुनस्र्थापनाकालसमेत गरी पाँच पटक प्रधानमन्त्री बनेका थिए । दिल्ली, राजतन्त्र सबैसँग समन्वयकारी भूमिका खेल्न माहिर राजनीतिक खेलाडी थापा राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रको पालामा गरी उनी पाँच पटक प्रधानमन्त्री भएका हुन ।

suryaउनकै नेतृत्वमा रहेको सरकारले राजा वीरेन्द्रको पालामा जनमत संग्रह गरिएको थियो जसमा बहुदलीय व्यवस्था पराजित भएको थियो । २०१५ सालमा राजा महेन्द्रले संसदको निर्वाचन घोषणा गरेपछि गठित सल्लाहकार सभामा थापा अध्यक्ष थिए । पछिल्लो पटक उनी शाही कालमा प्रधानमन्त्री बने । धनकुटा जिल्लाको मुगा गाविसमा जन्मिएका थापा पछिल्लो समय काठमाडौँको मालीगाउँमा बस्थे ।  उनका छोरा सुनीलबहादुर थापा वर्तमान मन्त्रिमण्डलमा आपूर्तिमन्त्री छन् । मृत्युपर्यन्त नेपाली राजनीतिमा सक्रिय थापाले चैत ५ गते ८८ औं जन्मदिन मनाउने क्रममा सञ्चारकर्मीहरुसँग जनजाति, मधेसी, दलित र महिलाले समान अधिकार नपाएको र यो समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए । थापाको निधनपछि राप्रपाको केन्द्रीय समितिको आपतकालीन बैठक आज बिहान ९ बजे बस्दैछ । थापाको शव आजै अपराह्न नेपाल ल्याइने तयारी भइरहेको सहप्रवक्ता किरण गिरीले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१