भीमदत्तनगर,१ बैशाख । महाकाली नदीमा हामफालेकामध्ये तीन छात्राको शव दार्चुलाको दत्तु गाविस क्षेत्रमा भेटिएको छ। तिनको खोजीमा जुटेका सशस्त्र प्रहरी निरीक्षक देवसिंह ठगुन्नाले दत्तु–४ मा महाकाली पारी भारततर्फ बालिका एवं किशोरीको शव भेटिएको जानकारी दिए। ‘तीन जनाले एकअर्काको हातमा एउटै दुपट्टाले बाँधेर हामफालेका रहेछन्,’ ठगुन्नाले भने। भारततर्फ भेटिएकी छात्राको शव नेपालतर्फ ल्याउन टोली खटिएको छ। चार जनाले सामूहिक रुपमा दुपट्टाले हात बाँधेर हाम फालेको र महाकालीमा बग्ने क्रममा एक जना छुट्टिएको हुन सक्ने प्रहरीले जनाएको छ।
मृतावस्थामा भेटिएकी किशोरीको पहिचान खुल्न बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ। हराएकी अर्की किशोरीको खोजी भइरहेको छ। आज बिहान आफू अध्ययनरत राष्ट्रिय उमावि दत्तुमा वार्षिक परीक्षाको नतिजा लिएर घर फर्किने क्रममा दत्तु गाविस–२ की कक्षा ७ मा अध्ययनरत ममता चुनारा, कक्षा–७ मै अध्ययनरत १४ वर्षीया पूजा कोली, कक्षा ६ मा अध्ययनरत १२ वर्षीया नितु लोहार र कक्षा ६ मा अध्ययनरत नाम नखुलेकी १३ वर्षीया किशोरी महाकालीमा हामफालेका थिए। महाकालीमा हाम फाल्नेमध्ये एक उत्तीर्ण र बाँकी तीन अनुत्तीर्ण भएका थिए। रासस
प्रतिक्रिया