पश्चिममा ‘लु’ चल्न सक्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ जेष्ठ २०७१, बिहीबार ११:४४

काठमाडौ, १ जेष्ठ ।  केही दिनयता लगातार गर्मी बढेको छ । मध्य र सुदूरपश्चिमको तापक्रम ४० डिग्री सेल्सियस नाघिसकेको छ । काठमाडौंमा पनि केही दिनयता ३२ डिग्री पुगेको छ । काठमाडौं विश्वविद्यालयका मौसम विज्ञानका अध्यापक मणिरत्न शाक्यका अनुसार तापक्रम बढिरहेकाले पश्चिम तराईमा ‘लु’ चल्ने सम्भावना छ । ‘बढ्दो तापक्रमले जमिन तताउने भएकाले त्यस्तो ठाउँमा तातो वायु (लु) चल्न सक्छ,’ शाक्यले बुधबार भने ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गत सातादेखि नेपालगन्ज, धनगढी, भैरहवा र सिमराको तापक्रम ४० डिग्री नाघिसकेको छ भने वीरेन्द्रनगर, दाङ र दिपायलको तापक्रम पनि त्यसको नजिक छ । पूर्वी तराईका जनकपुर, धरान, वीरगन्ज, राजविराज लगायत ठाउँमा भने अहिलेसम्म ४० डिग्रीभन्दा कम नै छ । विराटनगरमा पनि ४० डिग्री नजिक पुगेको छ । बुधबार र बिहीबार त्यहाँको तापक्रम ३९.५ रेकर्ड भयो ।

यतिबेला भारतको राजस्थानस्थित मरुभूमिबाट तातो हावा (हिट वेभ) नेपालको पश्चिम भाग हुँदै प्रवेश हुने भएकाले पनि महेन्द्रनगर, दिपायल, धनगढी, नेपालगन्ज, भैरहवालगायत स्थानमा लु चल्न सक्ने शाक्यले बताए । ‘स्थानीय प्रभावले तातिरहेको जमिनमा फेरि तातो हावा थपिएपछि लु चल्छ,’ उनले भने, ‘यो पटक मनसुन ढिला हुने अनुमान गरिएकाले ताता दिनको सामना गर्नुपर्ने देखिन्छ ।’

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेल पनि सुदूरपश्चिम र मध्यका क्षेत्रमा पछिल्ला दिनमा तापक्रम निकै बढेकाले लु चल्ने सम्भावना रहेको बताउँछन् । केही दिनदेखि धनगढी र नेपालगन्जमा सबैभन्दा बढी तापक्रम रेकर्ड भइरहेको छ । उनका अनुसार १९९५ जुन १६ का दिन धनगढीको तापक्रम सबैभन्दा बढी ४६.४ रेकर्ड भएको थियो । त्यो नै अहिलेसम्मको सबैभन्दा बढी हो । यसपटक धनगढीको तापक्रम ४० डिग्री नाघिसकेको छ । सुख्खा दिनहरू अझै लम्बिने भएकाले तापक्रम बढ्न सक्ने मौसमविद् पौडेल बताउँछन् । नेपालमा सामान्यतया जुन १० (जेठ अन्तिम) देखि मनसुन सुरु हुने भए पनि केही वर्षदेखि त्यसमा ढिलाइ हुँदै आएको छ । मनसुनको ढिलाइका कारण पनि तापक्रम बढ्ने दिनको संख्या थपिने गरेको शाक्य बताउँछन् ।

त्यसैगरी, काठमाडौंमा पनि केही दिनदेखि तापक्रम उकालो लागिरहेको छ । काठमाडौंमा मंगलबार र बुधबारको तापक्रम ३२ डिग्री रेकर्ड भयो । अहिलेसम्म १९८९ को मे ७ का दिन रेकर्ड भएको ३६.६ डिग्री तापक्रम काठमाडौंमा रेकर्ड भएको सबैभन्दा उच्च हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१