हृदयाघात : समयमै उपचार बाच्ने आधार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० चैत्र २०७१, सोमबार १२:३३

bharat-डा. भारत रावत

अमेरिकामा एक वर्षमा दशौं लाख मानिसलाई हृदयाघात हुन्छ । हृदयाघात संसारकै मानवमृत्यु वा अपाङगताको एक प्रमुख कारक हो । यसो भए पनि केही मानिसले मात्र समयमा यसको सही उपचार पाउँछन् । अमेरिकामा समेत आधाभन्दा कम अस्पतालमा मात्र २४ घण्टे आकस्मिक एन्जियोप्लास्टी सेवा उपलब्ध छ । मुटुको धमनी अकस्मात् पूर्ण रुपमा रोकिँदा हृदयाघात हुन्छ । यसले गर्दा मुटुका धेरै रक्तकोषको मृत्यु हुन्छ । दुई तिहाइभन्दा बढी यस्ता बिरामी  छाती दुख्न थालेको केही घण्टापछि अस्पताल नपुग्दै मर्छन् ।
मुटु रोगको उपचारमा पछिल्लो समयमा धेरै नयाँ प्रविधिको विकास भएको छ जसले गर्दा विश्वमा हृदयाघातको उपचार गर्ने प्रक्रियामा धेरै परिवर्तन भएको पाइन्छ । रोगको निदान हुनासाथ २ चक्की एस्पिरिन खान दिनु र धमनीमा तार पठाई बेलुनजस्तो फुलाएर वा स्टेन्ट प्रत्यारोपण गरेर बन्द भएको मुटुको धमनीलाई खोल्नु आजको सबैभन्दा उपयुक्त उपचार विधि भएको छ । यसलाई प्राथमिक वा आकस्मिक एन्जियोप्लास्टी भनिन्छ । अर्को विधि जतिसक्दो चाँडो जमेको रगत पातलो पार्ने औषधिको इन्जेक्सन लगाउनु हो । तर यो विधि पहिलो विधिभन्दा आधामात्र प्रभावकारी हुन्छ ।
प्राथमिक एन्जियोप्लास्टी भनेको हृदयाघात भएका बिरामीलाई अस्पताल पु¥याएपछि तुरुन्तै मुटुको धमनीमा एन्जियोप्लास्टी गरी संकटकालीन उपचार गर्ने प्रविधि हो । मुटु दुखेको ६ देखि १२ घण्टाको फरकमा र अस्पताल पुगेको ९० मिनेटभित्र प्राथमिक एन्जिओप्लास्टी हुन सकेमा राम्रो नतिजा आउँछ । प्रत्येक मिनेटको ढिलाई भनेको लाखौँको संख्यामा मुटुका रक्त कोषहरुको नोक्सान हुनु हो ।
हृदयाघात हुनासाथ एन्जियोप्लास्टी भएमा रक्तश्राव तथा पक्षघात हुने डर कम हुन्छ । यसबाट फेरि हृदयाघात हुने वा मृत्यु हुने जोखिम कम हुन्छ भने चाँडो निको हुने तथा पछि गएर गुणात्मक जीवन प्राप्त हुने अवस्था बढी हुन्छ । तर सबै बिरामीलाई प्राथमिक एन्जियोप्लास्टी नै व्यवहारिक विकल्प हुँदैन किनभने यो ज्यादै महँगो उपचार विधि हो । अनि सबै अस्पतालमा यो सुविधा पनि उपलब्ध हुँदैन । यदि यो सेवा उपलब्ध छैन भने अर्को उत्तम विकल्प जमेको रगत पातलो पार्ने औषधिको इन्जेक्सन दिनु नै हो ।
प्राथमिक एन्जियोप्लास्टीको प्रविधि महँगो भए पनि आजकाल यो प्रविधि उपलब्ध छ । हरेक मानिसले यो विकल्पका बारेमा जानकारी राख्नु नितान्त जरुरी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१