निजी स्कुलमा चर्को शुल्क वृद्दि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० चैत्र २०७१, सोमबार ०८:५७
  • कसको शुल्क कति ?

    काठमाडौं,३० चैत।  देशभरका निजी विद्यालयमा आउँदो शैक्षिक सत्रदेखि चर्को शुल्क वृद्दि हुँदैछ । निजी विद्यालयमा ११ लाख विद्यार्थी अध्ययनरत छन् ।

    सबैभन्दा बढी निजी विद्यालय रहेको काठमाडौंमा जिल्ला शिक्षा कार्यालयले शैक्षिक सत्र २०७२बाट लागू हुने गरी २२ प्रतिशत बढाउने निर्णय गरेको छ । काठमाडौंसमेत गरी ५ जिल्लाका निजी विद्यालयको औपचारिक रुपमा शुल्क बढाइएको हो । रुपन्देही,कैलाली,नवलपरासी र मोरङमा जिल्ला शिक्षा कार्यालयले यसअघि नै शुल्क बढाइसकेका छन् ।

    निजी विद्यालयहरुको प्रस्तावमा काठमाडौं शिक्षा कार्यालयले आइतबार शुल्क वृद्दिको निर्णय गरेको हो । बाँकी शिक्षा कार्यालयले सोमबार आ–आफ्ना जिल्लाका निजी विद्यालयको शुल्क २२ प्रतिशतको हाराहारीमा बढाउँदै छन् । शिक्षा विभागका निर्देशक खगेन्द्र नेपालले अधिकांश जिल्लामा चैत मसान्तभित्रै आवश्यकताअनुसार शुल्क निर्धारण भइसक्ने बताए ।

    निजी विद्यालयले मनोमानी शुल्क बढाएपछि सर्वोच्च अदालतले तीन वर्षअघि नै नबढाउने निर्देश गरेको थियो । २०६८ सालपछि औपचारिक रुपमा शुल्क बढाइएको हो ।
    कति बढ्यो शुल्क ?

    निजी विद्यालयले शुल्क वृद्दि गरेसँगै क वर्गको विद्यालयको प्रावि तहको शुल्क २०१३(मासिक) पुगेको छ । यसअघि १६५० थियो । ख वर्गको लागि १६७५ तोकिएको छ भने ग वर्गको लागि १३४२ पुर्याइएको छ ।
    निमावि तहको क वर्गको शुल्क २२८७ पुगेको छ । यसअघि १८७५ थियो । ख वर्गको लागि १९०७ र ग वर्गको लागि १५२५ तोकिएको छ ।
    मावि तहको क वर्गको विद्यालयले अब ३१११ शुल्क असुल्नेछन् । ख र ग वर्गका विद्यालयले भने क्रमशः २५९२ र २०७४ शुल्क लिनेछन् ।आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया