बाग्लुङ, २९ चैत । बाग्लुङ निर्वाचन क्षेत्र नम्बर १ मा भएको संविधान सभा उप निर्वाचनको मत गणना जारी छ । मतगणना बिहान ११ बजे सुरु भएको हो । प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेसकी चम्पादेवी खड्काले अग्रता लिएकी छिन । उनलाई नेकपा एमालेका मनकुमारी केसीले पछ्याइरहेकी छिन् । बुथका १९ हजार ३७३ मत गणना भैसक्दा कांग्रेस उम्मेदवार खड्काले ८ हजार ५१५ मत पाएकी छन् । एमालेकी मन केसीले ७ हजार ४९२ र एमाओवादीका हरिबहादुर केसीले १ हजार ५६६ मत पाएका छन् । अब २२ हजार मत गन्न बाँकी छ । बाग्लुुङमा पहिलो पटक विद्युतीय मतदान गरिएको थियो, जसमा ३८ हजार मतदाताले मतदान गरेका थिए ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख टोलराज उपाध्यायले संविधान सभाको दोश्रो निर्वाचनमा ७६ प्रतिशत मतदान भएकोमा यसपटक भने केही कम अर्थात ७३ प्रतिशत मात्र मतदान भएको जानकारी दिए । बाग्लुङ नगरपालिकासहित १९ वटा गाउँ विकास समितिका ७० वटा मतदान केन्द्रमा मतदाताहरुले शान्तिपूर्वक हिजो मतदान गरेका थिए । उपनिर्वाचनमा नेपाली काँग्रेसबाट स्व.हरि बहादुर खड्काकी श्रीमती चम्पादेवी खड्का, नेकपा एमालेबाट मनकुमारी केसी, एमाओवादीबाट कृष्ण बहादुर केसी, राष्ट्रिय जनमोर्चाबाट नेत्र बहादुर बुढाथोकी लगायत १० राजनीतिक दल र ३ जना स्वतन्त्र उम्मेदवार गरी १३ जना चुनावी मैदानमा उत्रेका थिए । नेकपा माओवादी बैद्य समूह, विप्लव समूह र नेकपा एकिकृतले उपनिर्वाचन बहिष्कारको घोषणा गरे पनि जिल्लामा कुनै घटना भने भएन ।
प्रतिक्रिया