काठमाडौं,२७ चैत । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणको काम कुनै शक्तिले चाहेर पनि नरोकिने प्रष्ट गरेका छन् । लोकतान्त्रिक आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको जन्मशताब्दीका अवसरमा शुक्रबार गरिएको ‘गणेशमान बलिदान अभियान’ समापन समारोहमा प्रधानमन्त्री कोइरालाले ‘संविधान बनाउन आफूले खुट्टा नकमाउने’ दाबी गरे । पदीय दायित्वका कारण जिम्मेबार बन्न परेको भन्दै उनले कमजोर भने नरहेको बताए । ‘संविधानमा देखिएका षडयन्त्रहरु सूर्यका अगाडि हत्केला जस्तो’ भएको प्रधानमन्त्रीको कोइरालाको भनाइ छ ।
तेस्रो संविधानसभाको निर्वाचनबारे युरोपियन युनियनका प्रतिनिधिहरुले जिज्ञासा राखेको भन्ने चर्चा चलेपनि आफूसँगको भेटमा उनीहरुले अस्वीकार गरेको जानकारी उनले दिए । नेपालको लोकतान्त्रिक आन्दोलनमा गणेशमान सिंहको भूमिका अतुलनीय रहेको भन्दै उनले स्मरण गरे । कार्यक्रममा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले अहिलेको अवस्थामा गणेशमान जस्तो आँटिलो नेतृत्व जरुरी परेको उल्लेख गरे । अहिलेको संविधानसभाले पनि संविधान जारी गर्न नसके आफूहरु नालायकसिद्ध हुने पौडेलले चिन्ता व्यक्त गरे ।
यस्तै, एमाले वरिष्ठ नेता झलनाथ खनालले संविधान नबन्दासम्म कांग्रेस र एमालेको सहकार्य जारी रहने बताउँदै ३० गते बस्ने संविधानसभा बैठकले संविधान निर्माणको प्रक्रिया सुरु गर्नुपर्ने बताए । नेता खनालले गणेशमानकै कारण ०४६ सालमा बामपन्थी र कांग्रेसको संयुक्त आन्दोलन सम्भव भएको स्मरण गरे । कांग्रेस महामन्त्री एवं उपप्रधानमन्त्री प्रकाशमान सिंहले गणेशमानले प्रजातन्त्र र प्रजातान्त्रिक प्रणालीका लागि बलिदानी गरेको धारणा राखे ।
प्रतिक्रिया