प्रविण टिबडेवाल
रौतहट,२४ चैत्र । गौरमा एक साता देखि जारी बन्द हडतालका कारण जनजीवन कष्टकर बन्दै गएको छ । सेवाकेन्द्र विस्तार गरी चन्द्रनिगाहपुर सार्ने विवादमा सुरु भएको आन्दोलन रिले अनसन हुदै आमहडतालमा परिणत भएपछि अवस्था जटिल बनेको हो । रौतहटमा सेवा केन्द्र विस्तार सम्बन्धि निर्णय खारेजी मांग राखी वितेको चैत १८ गते देखि सुरु भएको आमहडताल आज एकसाता भईसक्दा पनि समाप्त नहुंदा अहिले सदरमुकाम गौर लगायत त्यस आसपास क्षेत्रका सर्वसाधारणको जनजिवन कष्टकर बन्दै गएको हो ।
आमहडताल शुरु भएको तेस्रो दिन स्थानिय र प्रहरी बिच दोहोरो झडप भएको थियो र सो झडपमा परी ६४ जना प्रर्दशनकारी घाईते भएका थिए भने ७ जना प्रहरी घाईते भएका थिए । तेस्रो दिनको झडपको क्रममा प्रहरीले ब्यापकरुपमा प्रर्दशनकारी माथी दमन गरेको थियो । झडप पश्चात गौरको स्थिती तनावग्रस्त भएको कुरा ध्यानमा राख्दै मन्त्रिपरिषदले गएको शुक्रवार सेवाकेन्द्र सार्ने निर्णय फिर्ता गरेको थियो । गौरबासीको मांग पुरा गर्न सरकारले ढिला गर्यौ र त्यसको परिणाम एउटा मांग संम्बोधन गर्न धौं धौं परेको सरकारलाई अब ६ वटा थप मांग झेल्नु परेको छ । शुक्रवारको आन्दोलनको क्रममा प्रहरीले गरेको दमनका कारण स्थानिय झन उग्र बन्दै शनिवार देखिनै फिर्ता हुने हडताल अहिले पनि जारी राखेका छन् । सदरमुकाम गौरमा सात दिनदेखि जारी बन्दले सर्वसाधारणहरुको विचल्ली हुनुको साथै दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने मजदुरहरुलाई निकै सास्ती खेप्नु परेको छ । यातायातका साथ साथै बजारका पसलहरु समेत बन्द भएका कारण दैनिक उपभोग्य बस्तुको किनमेलमा पनि कठिनाई भईरहेको स्थानियहरुले बताएका छन् । सदरमुकाम गौरका स्थानिय अरुण गुप्ताका अनुसार ”बन्दमा गौर बजार पनि नखुल्ने र सिमापारी भारतिय बजारबाट पनि सामान किनेर ल्याउंदा सुरक्षाकर्मिहरुले रोकिदिने जसकारण अहिले घर परिवार चलाउन पनि हम्मे हम्मे परेको छ ” ।
उद्योग वाणिज्य संघको नेतृत्वमा सुरु भएको आन्दोलनको क्रममा सेवाकेन्द्र विस्तारको निर्णय मन्त्रि परिषदबाट खारेज भएपनि सदरमुकाम गौर भन्दा बाहिर रहेका जिल्ला कार्यालयहरुको स्थापना, सशस्त्र प्रहरीको भ्यानको ठक्करबाट मृत्यु भएका रामासिष ठाकुरलाई शहिद घोषणा तथा आन्दोलनको क्रममा घाईते भएकाहरुको क्षतीपुर्तिको व्यवस्था, आन्दोलनको क्रममा स्थानियमाथी व्यापक दमन गर्ने प्रहरी उपरिक्षक र प्रमुख जिल्ला अधिकारी लाई निलम्बन गर्ने लगाएत ६ बुन्दे मांग राख्दै प्रदर्शनकारीहरुले रौतहटमा प्रदर्शन जारी राखेका छन् । सरकारले मांग पुरा नगरेका भन्दै मृत्यु भएका ठाकुरको शवको अन्तिम संस्कार आज चारदिन मृत्यु भएको वितिसक्दा पनि हुन सकेको छैन् । ठाकुरको शव अहिले पनि जिल्ला अस्पताल गौरमा राखिएको छ । बन्दका कारण गौर, गरुडा लगायत बजारहरुको कुनै पनि पसल खुलेका छैनन भने विद्यालयमा पठनपाठनसमेत ठप्प रहेको छ ।
आन्दोलनको कारण रौतहटमा बन्दै गइरहेको असहज परिस्थतिलाई सहज बनाउनका लागि विभिन्न संघ सस्थाले स्थानीय प्रसाशन संघ आग्रह गरेका छन् । आन्दोलनले उग्ररुप लिएपछि रौतहटबासिमा बढेको त्रास लाई हटाई शान्ति र सुरक्षाको प्रत्याभुति दिलाउन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल जिल्ला कार्य समिति रौतहट, नेकपा संयुक्त माक्र्सवादी, श्री जुद्ध क्याम्पस गौर प्राध्यापक संघ र जिल्ला अदालत बार एशोसिएशन गौरले छुटा छुटै प्रेस विज्ञप्ती जारी गरी रौतहट उद्योग वाणिज्य संघ द्धारा घोषित शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरेको दमन प्रति घोर आपत्ति जनाएका छन् । त्यस्तै चन्द्रनिगाहपुरमा स्थापना गर्न लागेको सेवा केन्द्र खारेज भएपछि सरकारले दिएको सुविधा पुन ः सरकारले खोसेको भन्दै चन्द्रनिगाहपुरमा आजदेखि रिले अनशन सुरु गरेका छन् । मंलगबारबाट चन्द्रनिगापुर स्थित लोकतान्त्रिक चौकमा रिले अनशन सुरु भएको हो । अनशनमा चन्द्रपुर नपा–१ का नेपाली कांग्रेसका कार्यकर्ता भरत आचार्य , व्यापारी बिनोद गुप्ता, उधोग वाणिज्य संघ चन्द्रपुरका अध्यक्ष बासुदेव अधिकारी, थारु कल्याणकारी संघ रौतहटका कोषाध्यक्ष जितेन्द्र चौधरी र एमालेका चन्द्रपुर नगर इन्चार्ज बिनोद घिमिरे बसेका छन् । सरकारले रौतहट क्षेत्र नम्बर ५ र ६ का नागरिकहरुलाई सहज हुने गरी नापि र मालपोत कार्यालयको सेवाकेन्द्र चन्द्रनिगाहपुरमा राख्ने निर्णय गरेको थियो । जुन निर्णय गौरमा भएको आन्दोलनको क्रममा चैत्त २० गते मन्त्रि परिषदको बैठक बसि खारेज गरेको थियो ।
प्रतिक्रिया