काठमाडौं,२३ चैत । नेकपा (एमाले)का दिवङ्गत नेता रामनाथ ढकालको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालय बल्खुमा आज बिहान ८ बजेदेखि श्रद्धाञ्जलिका लागि राखी पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झन्डा ओढाई नेता ढकालप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । श्रद्धाञ्जलि दिन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, माधवकुमार नेपाल पार्टीका अन्य नेताहरू तथा मन्त्रिगण, नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसी, राज्यलक्ष्मी श्रेष्ठ, रञ्जित कर्ण, राप्रपा नेपालका अध्यक्ष कमल थापा, एनेकपा माओवादीका नेता टोपबहादुर रायमाझीलगायतका नेताहरूको बल्खुमा उपस्थिति थियो ।
ढकालको निधनले पार्टीलाई धेरै क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ । पार्टी मूख्यालय बल्खुमा आज विहान बसेको स्थायी कमिटीको आकस्मिक बैठकले ढकालको सम्मानमा तीन दिनसम्म देशभरिका पार्टी कार्यालयहरुमा पार्टी झण्डा आधा झुकाउने, औपचारिक कार्यक्रमहरु तीन दिनसम्म आयोजना नगर्ने र आगामी २०७२ बैशाख ४ गते श्रद्धाञ्जलीसभा आयोजना गर्न देशभरिका सबै जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ । एमाले अध्यक्ष केपी ओलीले आजै शोक वक्तव्य जारी गरी ढकालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् । उनको शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टिका लागि लगिएको छ ।
प्रतिक्रिया