नारायण रिजाल,
बागलुङ,२३ चैत । एकिकृत नेकपा माओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले नेपाली जनताले बलिदान दिएर ल्याएको संविधान सभा नेपाली काँग्रेस र एमालेले अपहरण गरेका कारणले त्यसलाई फर्काउनका लागि एमाओवादी सहित ३० दलीय मोर्चा आन्दोलनमा जानुपरेको बताए । यहि चैत्र २८ गते हुन लागेको बागलुङ क्षेत्र नं. १ को संविधान सभा उपनिर्वाचनका लागि लक्षित गरी एनेकपा माओबादी बागलुङले आयोजना गरेको चुनावी सभालाई संबोधन गर्दैै नेता भट्टराईले नेपाली काँग्रेस र एमाले मिलेर संघियता विनाको संविधान बनाउन खोज्नु मुर्खता भएको बताए ।
देशले छिटै निकास पाउने लक्षण नभएको भन्दै नेता भट्टराईले संविधानको मर्म भनेको पहिचान सहितको संघीयता संघीयता सहितको संविधान भएको हुँदा यसलाई थाँती राखेर संविधान बनाउनु भनेको मुर्कुट्टा संविधान बनाउनु हो ।
सहमतीको आधारमा संविधान बन्ने ग्यारेण्टी नभएसम्म संविधान सभाको बैठक बहिष्कार गर्ने उनले भने । संविधान सभा र संसद दुवैमा एउटै व्यक्तिको भूमिका भएको कारणले पनि मुलुकले निकास पाउन नसकेको बताउँदै जनताको आवाज उठाउनको लागि संसदको बैठक आवश्यक रहेको छ । नेता भट्टराईले भने आम नेपाली जनताको आन्दोलनकै भरमा यथास्थितिवादी सोंच भएका शक्तिलाई सहमतीको आधारमा संविधान बनाउनको लागि ल्याउनुपर्ने अवस्था रहेको कारणले पनि आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने बताए ।
कांग्रेस एमालेले बिचित्रको गाईजात्रा गरिरहेको भन्दै अब यिनीहरुलाई जनताकै आन्दोलनको भरमा ठिक पार्नुपर्ने अवस्था आएको उनले बताए । सभाको संवोदनको क्रममा संविधान सभाको उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई यसपटक सबैले मतदान गरेर जिताउनको लागि उनले अपिल गरेका थिए । चुनावी सभामा एमाओवादीका नेता देवेन्द्र पौडेल, बलावती शर्मा, बागलुङ क्षेत्र नं. १ का उम्मेदवार कृष्ण के.सी. लगायतका वक्ताहरुले उपनिर्वाचनमा आफ्नो पार्टीलाई सहयोग गर्न सबैलाई आग्रह गरेका थिए ।
प्रतिक्रिया