विराटनगर, २२ चैत । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान जारी नभएसम्म सुशील कोइरालाको नेतृत्वको सरकार नै रहिरहने दाबी गरेका छन् । नेपाल प्रेस युनियन मोरङको आयोजनामा आज विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले एमाओवादीलगायतका दलले सहमति शब्दको गलत ढङ्गले व्याख्या गरिरहेको धारणा राखे ।
कुनै एक दलको सोचमा संविधान बनाउन नसक्ने उल्लेख गर्दै महामन्त्री सिटौलाले ठूला दल एक ठाउँमा बसेर संविधान निर्माणको विषयलाई केन्द्रविन्दुमा राखेर छलफलको आवश्यकता छ भने । सङ्घीयताको विषयमा पार्टीहरुबीच फरक मत आउनु स्वाभाविक रहेको प्रसङ्ग उल्लेख गर्दै उनले नेपाली काँग्रेसले जनताको चाहनाअनुरुप सात प्रदेशको खाका प्रस्तुत गरेको बताए ।
उनले भने, “संविधानसभाबाट संविधान जारी गर्न जनताले निर्वाचित गरेर पठाएकामा संविधानसभा बहिष्कार गर्नु भनेको जनताको मतको अपमान हो ।” उनले संविधानसभामा बसेर छलफल गरी तयार पारेका प्रारम्भिक मस्यौदालाई जनताका बीचमा पठाउनुपर्नेमा सडक आन्दोलन गर्नुको कुनै औचित्य नरहेको स्पष्ट पारे । रासस
प्रतिक्रिया