धरान,२२ चैत । पर्यटन व्यवसाय प्रवद्र्धनका लागि पूर्वमा धरान स्काई एडभेन्चर प्याराग्लाइडिङ प्रालिले यसै महिनाबाट प्याराग्लाइडिङ थाल्ने भएको छ । ६ वटा टेन्डम उडान गर्ने इजाजत पाएको यस कम्पनीका सञ्चालक अधिकारी आँफै सहभागी भई २०६९ सालमा पोखराबाट २ वटा टेन्डम र तीन वटा सोलो प्यारा ल्याएर सफल उडान परीक्षण गरे पश्चात व्यवसायिकता तर्फ अघि बढेका हुन् । पूर्वाञ्चलको पहिलो प्याराग्लाइडिङ कम्पनीको रुपमा स्थापित, रोशन अधिकारी र निर्मल आचार्यद्धारा सञ्चालित यस स्काई एड्भेन्चरले पूर्वाधारका रुपमा भेडेटार निकट धरान स्थित छोटी मोरङको देवीथान डाँडाको ३ कट्ठा जमिन उडानस्थलका लागि २ बर्षे लिजमा लिएको छ ।
पर्यटन व्यवसायमा सहयोगी भूमिका खेल्ने भएकाले धरान उपमहानगरपालिकाले धरान १६ नौलो बस्ती स्थित ऐलानी खाली जमिन निःशुल्क प्रदान गरेको छ । उडान सञ्चालन गर्दा नजिकको विमानस्थलसँग सञ्चार सम्पर्कमा रहनुपर्ने नागरिक उड्डयनको सिफारिस अनुसार भीएचएफ १ सय २३ दशमलव ६ मेगाहर्जको उपकरण ल्याई विराटनगर विमानस्थल कार्यालयसँग समन्वय गरी कन्ट्रोल टावरसँग सम्पर्कमा रहने प्राविधिक व्यवस्था मिलाइ सकिएको अधिकारीले बताए ।
प्रतिक्रिया