रौतहट,२२ चैत । कर्फ्यु हटाइएपछि रौतहट गौरको जनजीवन सामान्य बन्दै गएको छ । तीन दिनदेखि उत्पन्न तनाव सामान्य बनाउन शनिबार दिउँसोदेखि लगाइएको कर्फ्यु आइतबार बिहान ४ बजेपछि हटाइएपछि बजार खुलेका छन् । बिहानैदेखि स्थानीय बासिन्दा किनमेलका लागि बजार निस्किएका छन् । स्थानीय राजनीतिक दलले कर्फ्यु नहटाएसम्म वार्ता नगर्ने बताएपछि बिहान ४ बजेपछि हटाइएको हो ।
स्थिति सामान्य बनाउन अहिले सरकार र राजनीतिक दलका प्रतिनिधिबीच फेरि वार्ताको तयारी भैरहेको छ । शनिबार राति अबेरसम्म भएको वार्तामा सहमति नजुटेपछि अहिले फेरि वार्ताको तयारी भैरहेको हो ।
सरकारले रौतहटको चन्द्रनिगाहपुरमा मालपोत र नापी कार्यालय स्थानान्तरण गर्ने निर्णय गरेपछि स्थानीय बासिन्दाले तीन दिनदेखि आन्दोलन गर्दा रौतहट सदरमुकाम गौर असान्त बनेको थियो । आन्दोलनपछि सरकारले निर्णय फिर्ता लिएको छ । तर शनिबार प्रहरीको गाडीको ठक्करबाट राम आशिष ठाकुरको ज्यान गएपछि स्थिति फेरि तनावपूर्ण बनेको हो ।
प्रतिक्रिया