भक्तपुर,१९ चैत । नयाँ वर्षको अवसरमा भक्तपुरमा बृहत औद्योगिक तथा व्यापार मेला हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले आयोजना गर्ने मेला यही चैत्र २७ गतेदेखि वैशाख ७ गतेसम्म चल्ने छ । भक्तपुरमा बिहीबार भएको पत्रकार सम्मेलनमा संस्थाका प्रमुख सन्दिप महतले उपभोक्तालाई एउटै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उदेश्यले नयाँ वर्षको अवसरमा भक्तपुरमा पहिलो पटक बृहत औद्योगिक तथा व्यापार मेला आयोजना गर्न लागेको बताउनुभयो । मेला भक्तपुरको सल्लाघारीमा हुने छ ।
मेलामा दैनिक उपभोग्य सामाग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्री, भाँडाकुडाको स्टल रहने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा मेलाका संयोजक दिपक थापाले अटोमोवाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोवाइल, इलेक्ट्रोनिक्स सामानको पनि स्टल रहने बताउनुभयो । मेलामा बिक्री गरिने सामानमा २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको जानकारी दिदै उहाँले मेलामा आउनेका लागि निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिने भएको बताउनुभयो । मेलामा दुई सय भन्दाबढी स्टल रहने छन् ।
प्रतिक्रिया