काठमाडौं,१६ चैत । चिकित्सा क्षेत्रमा व्याप्त विकृति अन्त्यको माग गर्दै ९ दिनदेखि आमरण अनशनरत डा.गोविन्द केसीको स्वास्थ्यस्थिति दिन–प्रतिदिन खस्कँदै गएपछि सर्वत्र चिन्ता छाएको छ । बिग्रँदो स्वास्थ्य स्थिति र केसीले उठाएका मागको सम्बोधन गर्न माग गर्दै सोमबार बिहानैदेखि सर्वसाधारणहरुसमेत त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् । डा.केसीले उठाएका माग र आन्दोलनप्रति ऐक्यबद्धता जनाउन मेडिकल कलेजका विद्यार्थीहरु, सर्वसाधारण र विभिन्न संघ–संस्थाका प्रतिनिधि त्रिवि शिक्षण अस्पताल पुगेका हुन् । त्यहाँ भेला भएका उनीहरुले शिक्षण अस्पतालदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म प्रदर्शन गरे । बालुवाटारमा पुगेर उनीहरुले डा.केसीको माग सम्बोधन गर्न आग्रह गर्दै केहिबेर धर्नासमेत दिए । छातीमा दुखाइ बढेपछि डा.केसीलाई अक्सिजन दिन थालिएको छ भने नशामा इन्फेक्सन बढेपछि स्लाइन चढाउनसमेत समस्या हुने गरेको चिकित्सकले बताएका छन् ।
पूर्वाधार नपुगेका नयाँ मेडिकल कलेजहरुलाई सम्बन्धन दिन नहुने, स्पष्ट मेडिकल नीति बन्नुपर्ने, स्वास्थ्य सेवा र शिक्षा सहज र सुलभ हुनुपर्नेलगायतका १० बुँदे माग राखेर डा.केसी ९ दिनदेखि अनशनरत छन् । यता, केही नागरिक अगुवाले भने प्रधानमन्त्री सुशील कोइरालाले डा.केसीको स्वास्थ्यस्थितिबारेमा व्यक्त गरेको भन्दै सन्चारमाध्यमहरुमा आएको खबर सत्य नभएको बताएका छन् । ध्यानाकर्षणपत्र बुझाउन जाँदा ‘प्रधानमन्त्रीले आफूहरुसँग त्यस्तो गैरजिम्मेवारीपूर्ण शब्द र वाक्य प्रयोग गर्नु भएकै होइन, बरु डा.केसीको जीवनलाई केही भइहाल्यो भने के गर्ने ? भनेर प्रधानमन्त्रीबाट चिन्ता ब्यक्त भएको हो’–उनीहरुले निकालेको विज्ञप्तिमा उल्लेख छ । कित्सा शिक्षा नीति र चिकित्सा विश्वविद्यालय निर्माण हुनुअघि नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, अनियमित तरिकाले मेडिकल कलेजको सम्बन्ध दिने पदाधिकारीलाई कारबाही गर्नुपर्ने, चिकित्सा विश्वविद्यालय सम्भाव्यता अध्ययन समिति र चिकित्सा शिक्षा राष्ट्रिय मापदण्ड निर्धारण समितिले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन हुनुपर्ने, देवदेह र विराट् मेडिकल कलेजलाई सरकारले दिएको सम्बन्धन फिर्ता गर्नुपर्ने, मेडिकल शिक्षामा माफियाको चलखेल रोकिनुपर्नेलगायत १० बुँदे माग केसी समर्थकले राखेका छन्।
प्रतिक्रिया