हेटौंडा, १५ चैत । नेकपा –माओवादीका उपाध्यक्ष सिपी गजुरेलले अहिले विदेशीको इसारमा नेपाली कांग्रेस र नेकपा एमालेले माओवादीहरुलाई सिध्याउन खोजेको आरोप लगाउनुभएको छ । नेकपा–माओवादी मकवानपुर प्रचार प्रसार विभागको आयोजनामा भएको पत्रकार समेलनमा बोल्दै उहाँले माओवादीलाई सिध्याउन खोजिएकाले नै सबै कम्युनिष्ट पार्टीहरु एक हुने गृहकार्यमा लागेको बताउनुभयो । प्रायोजित रुपमा गरिएको दोस्रो संविधानसभाको चुनावबाट कांग्रेस र एमालेले दुई तिहाई बहुमत ल्याएर संविधान बनाउन खोजको भन्दै मुलुक मुठभेडमा पुग्ने उहाँले बताउनुभयो ।
‘हामीहरुलाई सिध्याउन खोजियो भने हामी पनि चुप बस्दैनौं ।’ उहाँले चेतावनीको शैलीमा भन्नुभयो ‘हाम्रा हातमा पनि दही जमेको छैन ।’ सरकारमा रहेका दलहरुले मिलेर एक पक्षीय रुपमा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेको भन्दै उहाँले आयोगमा माओवादीलाई सहभागी नगराइएकोमा आपत्ति जनाउनुभयो । सर्वोच्च अदालतले पनि ठुला ठुला मुद्दाहरुलाई मेलमिलाप गराउन मिल्दैन भनेर समस्या सृजना गरेको बताउँदै हाँले भन्नुभयो ‘सबै माओवादीहरुलाई विभिन्न खालका मुद्दाहरुमा जेल हाल्न खोजिँदै छ ।’ अदालतले पनि नयाँ कानुन खडा गरेर माओवादीलाई सिध्याउन खोजेको गजुरेलको आरोप छ । एकीकृत नेकपा माओवादीसँग सातवटा बुँदामा एकताको कुरा अघि बढेको बताउँदै उहाँले भन्नुभयो ‘सातवटा बुँदामा छलफलपछि कुरा मिलेमा हामी एक हुन्छौ ।’ माओवादीबीच एकता नभएपनि कार्यगत एकता हुने गजुरेलले बताउनुभयो ।
प्रतिक्रिया