टर्किस विमान दुर्घटनाले सिकाएको पाठ !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० चैत्र २०७१, मंगलवार १७:२८

-ज्ञानमणि कालोटोपी

बेला–बेलामा नयाँ–नयाँ राजनितिक घटनाक्रमले तरङ्गित हुदै आएको नेपालमा गएको फागुन २० गते अलि छुट्टै विषयले प्राथमिकता पायो । उक्त विषय थियो , टर्किस एयरलाइन्सको विमान दुर्घटना । २ सय २४ जना यात्री र ११ जना चालक दलका सदस्यहरु सवार उक्त विमान त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भयो । उक्त दुर्घटनामा मानविय क्षति चाहिं भएन तर यसले धावनमार्ग अवरोध बनाई दियो । जसले गर्दा देशको एक मात्र अन्र्तराष्ट्रिय विमान स्थल ४ दिन अवरोध पनि भयो । यसले थुप्रै आन्तरिक र बाह्य उडानहरु प्रभावित भए । बाहिरबाट नेपाल आउने हजारौं यात्रीहरु उतै अलपत्र परे भने नेपालबाट विदेशिनेहरु पनि यतै थन्किए । दैनिक ४० वटा उडान र त्यति नै संख्यामा अवतरणहरु रोकिए । करिव २ लाख केजी तौलको उक्त विमान धावन मार्गबाट पन्छाउन नेपालले २ दिन सम्म भरमग्दुर प्रयास ग¥यो । नसकेपछि भारतिय विशेषज्ञ टोलीलाई पनि बोलाइयो । सो टोलीले पनि अलपत्र विमान पन्छाउन सकेन । फेरि टर्किबाटै यसका प्राविधिकहरु बोलाइयो । सबै तिरको प्रयास पछि बल्ल विमान पन्छाइयो । एउटा विमान यसरी दुर्घटना हुनुको पछाडी के कारणहरु हुन सक्छन् त्यो त भोली थाहा होला नै तर यसले नेपालको असक्षमतालाई पनि राम्ररी छर्लङ्ग पारेको छ । यसले करोडौं रुपयाँको घाटा मात्र भएन नेपालको विमानस्थल सँग जोडिएका थुप्रै प्रश्नहरु पनि खडा गराईदियो ।
gyanmaniवि.सं. २००६ साल देखि नेपालमा हवाई सेवा शुरु भएको हो । त्यस यता झण्डै ८० वटा साना–ठूला दुर्घटनाहरु भए । थुप्रै जनधनको क्षती भयो । तर पछिल्लो पटक भएको यस्तो खाले दुर्घटना भने यो ६५ वर्षको नेपाली हवाई इतिहासमै पहिलो पटक भएको हो । यसले नेपालमा भएको एक मात्र अन्र्तराष्ट्रिय विमानस्थलको वैकल्पिक अवस्थालाई दर्शाएको छ । हुन त नेपालमा दोस्रो अन्र्तराष्ट्रिय विमानस्थलको निर्माण हुनु प¥यो भनेर आजभन्दा १८ वर्ष पहिले देखि नै आवाज उठेको हो । सो अनुशार नै बाराको सिमरामा विमानस्थल निर्माण गर्ने तयारी पनि गरिएकै हो । तर कहिले के विषयले त कहिले कुन बाहानाले अहिले सम्म यसले पूर्णता पाउन सकेको छैन । सरकारले विमानस्थल कसलाई निर्माण गर्न दिने भनेर पनि अहिले सम्म निर्णय गर्न सकेको छैन भने स्थानियवासिहरु वीचमा पनि विभिन्न आन्तरिक विषयले विवादै छ । जसले गर्दा राष्ट्रिय गौरवको विषयको रुपमा रहेको दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल निर्माण ओझेल मै छ ।
हुन त भैरहवा र पोखरामा पनि अन्र्तराष्ट्रिय विमानस्थल निर्माणको हल्लाले बेला–बेलामा निकै चर्चा नपाएको भने होइन । अझ काभ्रेमा पनि राजधानीको विमानस्थलको विकल्पमा अर्को विमानस्थल निर्माण गर्ने सरकारी हल्ला पनि थियो । तर यी सबै हल्ला हल्लामै सिमीत रहे । अझ भनौं कागजी निर्णयहरु दराजमै थन्किए । अव पुनः दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल निमार्ण गरिनु प¥यो भनेर आवाज उठ्न थालेका छन् । यो राम्रो कुरा भएपनि जव घरमा आगलागी हुन थाल्छ तव इनार खन्नुको के अर्थ भने जस्तै भएको छ । टर्किस एयरको विमान त दुर्घटना भइसक्यो । यतिखेर सम्ममा हामीले दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल निर्माण गरिसकेका थियौं भने अहिले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको विकल्पमा अरु ठाउँबाट उडान र अवतरणलाई निरन्तरता दिनसक्ने थियौं । यो परिस्थिती हामीले पहिले कहिल्यै पनि सोचेनौं । जसले गर्दा यतिबेला नसोचेको अवस्थालाई सामना गर्दै छौं ।
नेपालमा कुरा धेरै काम थोरै सामान्य जस्तै छ । हुन त गरौं भने जे पनि हुन सक्ने रहेछ भनेर गएको सार्क सम्मेलनमा अर्वौं रुपयाँ सक्याउँदै रातारात काम गरेको पनि देखिएकै हो । त्यसपछि अहिले सम्म विकास निर्माणका कामहरु खासै भएका छैनन् । भएकै भएपनि नगन्य मात्रामा छन् । कतै दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल निर्माण गरिने हल्ला पनि टर्किस एयरको दुर्घटना टरेपछि विस्तारै सेलाउदै जाने पो हो कि भनेर शंका उब्जनुलाई पनि अव सामान्य मान्दा हुन्छ । किनभने एउटा दुर्घटनाग्रस्त विमान पन्छाउन राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सबै खाले शक्तिहरुको प्रयोग गर्दा त यस्तो अवस्था छ भने विमानस्थल निर्माण जस्तो विषयमा कति धेरै राजनितीक र आर्थिक चलखेल हुन सक्ला त्यो सहजै अनुमान लगाउन सकिन्छ ।
नेपालमा अहिले ४४ वटा विमानस्थल छन् । यिनीहरु मध्ये केहि यतिखेर संचालनमा छैनन् । जति संचालनमा छन् प्राय सबैमा केहि न केहि समस्या छन् । कतिपय धावनमार्गहरु कालोपत्रे सम्म छैनन् भने भएका पनि कालोपत्रे भएको केहि महिनामै भत्किएका छन् । कतै भौगोलिक अवस्थाले गर्दा जोखिमपूर्ण छन् । यी सबै विमानस्थलहरुको मर्मत आवश्यक छ । यो कुरा एकातिर छदैं छ भने अर्कातिर अन्र्तराष्ट्रिय विमानस्थलको संख्या वढाउन पनि आवश्यक भइसकेको छ । अझ त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल त विभिन्न कारणहरुले धेरै जोखिमयुक्त रहेको बेला–बेलामा भएका अनुसन्धानहरुले देखाएकै छन् । तर अनुसन्धानहरुका प्रतिवेदनहरु पनि कार्यान्वयन हुन नसक्दा यहाँ महिनामा २÷३ वटा साना–ठूला दुर्घटनाहरु भई नै रहने गरेका छन् । यता तिर पनि ध्यान जानु आवश्यक छ ।
विश्वमै यतिबेला हवाईमार्ग सबैभन्दा छिटो र भरपर्दो यातायातको साधन भईसकेको छ । तर नेपालमा यसलाई व्यवस्थित र विश्वसनिय बनाउन सकिएको छैन । सानो–तिनो समस्या आए पनि विदेशीकै मुख ताक्नु पर्ने अवस्था छ । राष्ट्रिय सरोकारको विषय रहेको हवाई यातायातलाई प्राथमिकतामा राखेर काम गर्न अव सरकारले कति पनि ढिला गर्नु हुदैंन । ताकि आगामी दिनहरुमा टर्किस एयरको विमान दुर्घटनाले उब्जाएका समस्या जस्तै अन्य समस्याहरु थपिन नपाओस् । यसलाई एउटा पाठको रुपमा लिएर आजै देखि काम गर्न सरकार अग्रसर रहनु आवश्यक छ । अन्यथा यस्ता समस्याहरु आगामी दिनहरुमा पनि नदोहोरिएलान् भन्न सकिंदैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१