चितवन,१० चैत । चितवनमा उपचार गराएका मध्ये आजसम्म ७९ जना विरामीमा स्वाईफ्लु लागेको पुष्टि भएको छ। अहिलेसम्म जिल्लामा उपचारका लागि आएका २६१ विरामीको नमूना परीक्षणमा ७९ जनामा स्वाईनफ्लु भनेर चिनिने ईन्फ्लुएन्जा ए एचवान एनवानको संक्रमण भएको प्रतिवेदन आएको जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए।
यसअघि ५३ जनामा पुष्टि भएको प्रतिवेदन सार्वजनिक भएको थियो। उनका अनुसार अझै १०६ जनाको नमुना संकलन गरेर काठमाडौमा परीक्षणका लागि पठाईएको र त्यसको प्रतिवेदन भने आउन बाँकी छ। चितवनमा गएको फागुनदेखि स्वाईनफ्लुका विरामी भेटिएका हुन्। अहिलेसम्म विरामी मध्ये चितवन नै घर भएका ६८ जना र बाँकी अन्य जिल्लाबाट उपचारका लागि चितवन आएका विरामी रहेका छन्। नवलपरासीका ७ तथा तनहुँ ,रुपन्देही, गोर्खा ,विरगञ्जका १-१ विरामी फेला परेका छन्।
अहिलेसम्म कुल ४२ जना महिला र ३७ जना पुरूषमा स्वाईनफ्लु लागेको पाईएको कार्यालयले जनाएको छ।
यसअघि पनि चितवनवमा सन् २०१३ मा १० जना र सन् २०१४ मा ११ जनामा स्वाईनफ्लु लागेको पुष्टि भएको छ। भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विजय पौडेलले ४,५ दिनसम्म रुघा ठीक नभए भरतपुर अस्पतालको विशेष वाडमा आएर उपचार गराउन आग्रह गरे। जिल्लामा स्वाईफ्लु फैलन नदिने विशेष सतर्कता अपनाईएको अस्पतालले जनाएको छ। डा.पौडेलका अनुसार अहिले अस्पतालमा आईसोलेसन वार्ड बनाईएको छ भने हेल्पडेस्क समेत स्थापना गरिएको छ।
प्रतिक्रिया