मुस्ताङ, ८ चैत । जिविस मुस्ताङले पञ्चवर्षीय पर्यटन गुरुयोजना तयार पारेको छ । पर्यटकीय जिल्ला मुस्ताङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दोब्बर बनाउने उद्देश्य गुरुयोजनाको छ । त्यसका लागि अन्नपूर्ण संरक्षण आयोजना एक्याप, पर्यटन व्यवसायी, पर्यटन संस्थासँग सहकार्य र कुटनीतिक क्षेत्रमा पहल आवश्यक रहेको जिविसका कार्यक्रम अधिकृत केदारसिंह थापाले जानकारी दिए ।
गुरुयोजनामा जिल्ला भित्रिने पर्यटकलाई कैलाश मानसरोवरसम्म पु¥याउनका लागि पनि पहल गरिने उल्लेख छ । झोङ्वासेन कैलाश मानवसरोवर जाने सबैभन्दा छोटो मार्ग हुने कार्यक्रम अधिकृत थापाको भनाइ छ । जिविसले अहिले कोरोला नाकासम्म सडक सञ्जालको विस्तार गरिसकेको छ । हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रबिन्दु मानिने मुक्तिनाथमा आउने दुवै किसिमका धार्मिक पर्यटकलाई मानसरोवरसम्म पु¥याउने व्यवस्था भए जिल्लामा दोब्बर पर्यटक भित्रिने आशा जिविसले गरेको छ । अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मुख्य पर्यटकीय गन्तव्य मुस्ताङमा आन्तरिक तथा बाह्य गरी बर्सेनि करिब दुई लाख पर्यटकले भ्रमण गर्छन् । तीमध्ये अधिकांश भारतीय पर्यटक हुन्छन् ।
एक्याप मुस्ताङका प्रमुख विदुर कुइँकेलले गुरुयोजनाले पूर्वाधार विकास र स्थानीयस्तरमा चेतनाको अभिवृद्धिसँगै आवश्यक सीप र तालिम प्रदान गर्ने मुख्य उद्देश्य बोकेको बताए । मुस्ताङमा पछिल्लो समय स्थानीय कलासंस्कृति, मुक्तिनाथ मन्दिर, लोमान्थाङ, राजदरबार र प्राकृतिक सुन्दरताका कारण आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।
प्रतिक्रिया