सङ्कट मोचनका लागि सङ्कटा जाऔँ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ चैत्र २०७१, शनिबार १३:०९

logoकाठमाडौँ, ७ चैत  । मुलुकमा दिनप्रतिदिन बढिरहेको अस्थिरता र अन्योलका कारण व्यक्तिगत एवम् सामाजिक जीवन शान्तिपूर्ण बनाउने कामना गर्दै सङ्कटा मन्दिर जानेको सङ्ख्या यतिखेर निकै बढेको देखिन्छ ।काठमाडौँको अति प्राचीन शक्तिपीठका रुपमा टेबहालस्थित सङ्कटा मन्दिरमा ग्रह शान्तिका साथै व्यक्तिगत जीवनमा अनिष्ट नआओस् भनेर कामना गरिन्छ । पछिल्लो एक दशकयता देशका विभिन्न स्थानबाट दर्शन गर्न आउनेको सङ्ख्या निकै बढेको छ ।

सङ्कटा संरक्षण तथा व्यवस्थापन समितिका कावा अध्यक्ष मोतीकाजी वज्राचार्य पछिल्लो दशकमा शान्ति पाउनका लागि मन्दिरमा आउने भक्तजनको निकै आकर्षण देखिन्छ । “विगतमा सङ्कटा मन्दिर आउने दर्शनार्थीको सङ्ख्या असाध्यै कम थियो, स्थानीयवास िमात्रै आउँथे, उक्त समयमा पूजामा सहभागी हुने पुजारीलाई समेत घरबाट मकैको सातुजस्ता सामग्री ल्याउनुपर्ने अवस्था थियो, अहिले भक्तजनको सङ्ख्या निकै बढेको छ”, उहाँले भन्नुभयो ।

स्वदेशी दर्शनार्थी मात्र नभई विदेशी पर्यटकले पनि सङ्कटा मन्दिर क्षेत्रको भ्रमण गर्ने गरेका छन् । मन्दिरमा हिन्दू र बौद्ध धर्मावलम्बीबाहेक अन्य धर्मावलम्बीलाई पूजाका लागि भने प्रवेश निषेध गरिएको छ ।

तान्त्रिक शक्ति रहेको विश्वासका आधारमा मन्दिरको मूर्ति छुन पाइँदैन । मन्दिरको नियमित पूजाका लागि २७ पुजारी छन् । प्रत्येककोे एक महिनामा पालो आउँछ ।

पूजा सञ्चालन आदिका लागि गुठी जग्गाको व्यवस्था भए पनि पछिल्ला समयमा मोहियानी हक, जग्गाको विभिन्न नाममा अधिग्रहण एवम् अतिक्रमण आदिका कारण आयस्ता धेरै कम भइसकेको छ । मन्दिरका लागि बानेश्वर, नैकापलगायत विभिन्न स्थानमा गुठी जग्गा रहेको कावा अध्यक्ष वज्राचार्यको भनाइ छ ।

विशेष गरेर सङ्कटा मन्दिरमा शनिबारको दिन अत्यधिक भिड लाग्ने गरेको स्थानीयवासी अमूलरत्न वज्राचार्य बताउनुहुन्छ । “देशमा बढ्दो अस्थिरतासँगै भक्तजनको सङ्ख्या पनि अत्यधिक बढिरहेको छ”,
उहाँले भन्नुभयो । प्रत्येक दिन मन्दिर बिहान ४ देखि साँझ ५ बजेसम्म खुल्छ । शनिबार भने बिहान ३।०० बजेदेखि नै भक्तजन लामबद्ध हुने गर्छन् ।

ग्रहहरु अनिष्टकारी भएमा गरेका काम पूरा नहुने, शारीरिक अस्वस्थता, अबगाल आदिको समस्या व्यहोर्नुपर्ने जनविश्वासका आधारमा ग्रहको अनिष्ट शान्ति गर्नु नै सङ्कटा दर्शनको मुख्य लक्ष्य भएको अर्घाखाँची घर भई काठमाडौँ बस्ने सुमित्रा नेपालको भनाइ छ । आफूजस्ता धेरै दर्शनार्थी शनिबार र मङ्गलबारका दिन सङ्कटा आउने गरेको उहाँले बताउनुभयो ।

नेपालको जस्तै तनहुँ घर भई काठमाडौँ बस्दै आएकी विनिता अधिकारी पनि सङ्कटाको दर्शन गरेमा सबै अनिष्ट ग्रह शान्त हुने विश्वास गर्नुहुन्छ । दुई वर्षयता आफूले प्रत्येक शनिबार सङ्कटाको दर्शन गर्दै आएको बताउँदै उहाँले भन्नुभयो, “शनिबार निकै भिड हुने भएकाले धेरैजसो दर्शनार्थी बिहान सबेरै वा दिउँसो २ः०० बजेपछि मात्र आउने गर्छन् ।”

बाह्रवर्षे जात्राको तयारी
सङ्कटा मन्दिरसँग प्रत्यक्ष जोडिएको सङ्कटा १२ वर्षे मेला आगामी वैशाख २८ गते सोमबार हुँदैछ । मेलाको तयारी तीव्र रुपमा अघि बढाइएको छ ।

आजभन्दा करिब एक हजार चार सय वर्ष अगाडि लिच्छवि राजा नरेन्द्रदेवको राज्यकालमा देशको सङ्कट, दुःख बिघ्नबाधा हटाउन आचार्य बन्धुुदत्त वज्राचार्यद्वारा मेला आयोजना गरेको विश्वासका आधारमा प्रत्येक १२–१२ वर्षमा यो मेला सञ्चालन हुँदै आएको छ । यसअघि विसं २०६० जेठ ६ गतेदेखि १४ गतेसम्म नौ दिन मेला आयोजना गरिएको थियो ।

हिन्दू र बौद्ध धर्मावलम्बी दुवैले मनाउँदै आएको यो मेलाको पूर्णाहुति राष्ट्रप्रमुखले गर्ने प्रचलन रहेको कावा अध्यक्ष वज्राचार्यले जानकारी गराउनुभयो । मेलाका लागि समितिको सक्रियतामा मन्दिरको सरसफाइ, मर्मतसम्भार गरी रङरोगन गर्ने कार्य अघि बढाइएको छ ।

वैशाख २५ गते पूर्वाङ्ग क्षमा पूजा गरी काठमाडौँका कटुवालदह, टौदह, चोभार आदि स्थानमा तान्त्रिक विशेष पूजा गरी जेठ २ गते शनिबार देश तथा विश्व शान्तिको कामना गर्दै मन्दिरमा बृहत् होम गरिने समितिले जनाएको छ ।

जात्राका अवसरमा मन्दिरको जीर्णोद्धार समितिकै सक्रियतामा भइरहेको तथा यसलाई सम्पन्न गर्न हालसम्म अन्य कुनै सहयोग प्राप्त नभएको जनाइएको छ ।

लिच्छविकालीन समयदेखि पटक पटक जीर्णोद्धार हुँदै आएको यो मन्दिरको जीर्णोद्धार गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको र त्यसका लागि करिब रु पाँच करोड आवश्यक पर्ने अध्यक्ष वज्राचार्यले बताउनुभयो । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१