भक्तपुर, ६ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले संविधानसभाका अध्यक्ष सुवास नेम्बाङ्गले आफ्नो मर्यादा भन्दा बाहिर गएर अभिव्यक्ति दिने गरेको आरोप लगाउनुभएको छ । रफत सञ्चार क्लवले गरेको कार्यक्रममा बिजुक्छेंले संविधानसभा र संसद भित्र मात्रै बोल्नु पर्ने सभामुखले बाहिर बोल्दा आफ्नै मर्यादा खस्किएको बताउनुभयो । सभामुखले नियम संगत रुपमा मात्र अभिव्यक्ति दिनु पर्नेमा सार्वजनिक स्थान र बिभिन्न कार्यक्रममा अभिव्यक्ति दिनु गलत भएको बताउँदै उहाँले सभामुखले राजनीतिक दलहरुलाई यसो गर उसो गर भनेर आफ्नो मर्यादा भुल्दै गएको उहाँको टिप्पणी थियो ।
दलहरुले सभामुखलाई नटेरेका कारण सभामुखको मर्यादा घटेको टिप्पणी गर्दै बिजुक्छेंले सभामुखले संविधानसभा भित्रै छलफल र बहस गर्नुपर्ने बताउनुभयो । सहमतिको नाममा संविधानसभालाई लामो समय स्थगित गरेर राख्न नहुने बताउँदै उहाँले प्रक्रिया अगाडि बढाउनु पर्ने बताउनुभयो । बिजुक्छेंले भन्नुभयो ‘संविधानसभालाई लामो समय रोकेर राख्न हुन्न, प्रक्रिया अगाडि बढाउनु पर्छ, आवश्यक परे पछि स्थगित गर्दै छलफल गर्न सकिन्छ ।’
स्थानीय निकायको निर्वाचन भारतकै इशारामा हुन नसकेको आरोप लगाउँदै उहाँले स्थानीय निकायको निर्वाचन भए संघीय राज्य भन्दा स्थानीय निकाय बलियो हुने भएकाले भारतले नै स्थानीय निकायको निर्वाचन नचाहेको र नेपालमा निर्वाचन हुन नसकेको बताउनुभये ।
‘एमाओवादीसहितको मोर्चाको आन्दोलन प्रजातन्त्रको सौन्दर्यता भएता पनि सरकारले जसरी गाउँ गाउँमा आफ्नो बिचार पुर्याउनु पर्ने हो त्यसो हुन नसक्दा समस्या बढ्दै गएको छ ।’ उहाँले भन्नुभयो ‘आन्दोलनसँगै कोही पनि शसंकित हुन नपर्ने भन्दै उहाँले भन्नुभयो आन्दोलन गर्न पाउने सबैको अधिकार हो ।’
प्रतिक्रिया