काठमाडौं,६ चैत । दुई किशोरीमाथि तेजाब छ्याप्ने युवक जीवन विक प्रहरीले सार्वजनिक गर्नै लाग्दा अचेत भएर ढलेका छन् । रानीपोखरी प्रहरी कार्यालयले सार्वजनिक गर्नका लागि पत्रकार सम्मेलनस्थलमा ल्याउनेवित्तिकै बिक ढलेका हुन् । बिक बीबीएसका विद्यार्थीसमेत हुन् । जीवनले प्रहरीसँगको बयानमा आक्रमण गर्नुअघि नै एक दिन पक्राउ परिन्छ भन्ने लागेको बताए । तर, संगीतालाई एसिड हानेको दिन आफूलाई सबैभन्दा आनन्द लागेको उनले बयान दिएका छन् ।
‘मैले किन प्रहरीमा आत्मसमर्पण नगरेको भनेर सोधेको थिएँ’ एआइजी शर्माले भने-‘उसले अरु २/३ जनालाई सिध्याउन बाँकी थियो भन्यो ।’ जीवनका साथबाट प्रहरीले एसिड आक्रमणपछि विभिन्न पत्रपत्रिकामा आएका समाचारहरु समेत बरामद गरेको छ । प्रहरीका अनुसार जीवनले एसिड आक्रमणबारे भारतीय टीभी च्यानलहरुबाट थाहा पाएको बताएका थिए । तर, एसिड आक्रमणपछि भएको चर्चापछि मात्र यो यति ठूलो विषय रहेछ भन्ने थाहा भएको बयानसमेत बिकले प्रहरी अधिकारीसमक्ष दिएका छन् । पक्राउ परेका बिकले संगीयतासँग प्रेम रहेको दाबी गरे पनि संगीताले भने आफूले उनीसँग प्रेम नगरेको बताउँदै आएकी छन् । जीवन र संगीताको भेट ०६९ मा भएको थियो । जीवनको परिवार संगीताको परिवार बस्दै आएको घरमै कोठा सरेपछि उनीहरु नजिकिएका थिए ।
पक्राउ परेका जीवनको वयानअनुसार उनीहरुबीचको प्रेम संगीताका भाइ सन्तोषले थाहा पाएपछि विवाद सुरु भएको हो ।
प्रहरीका अनुसार न्यूरोडमा चिया पलस गर्ने जीवनले बेलाबेला संगीताका भाइ सन्तोषलाई पैसा दिएको पनि अनुसन्धानका क्रममा खुलेको छ ।
प्रतिक्रिया