काठमाडौं,५ चैत । सरकारले मुलुकको आर्थिक अवस्था सन्तोषजनक रहेको दाबी गरेको छ । अर्थ मन्त्रालयले बुधबार विकास साझेदारलाई मन्त्रालयमा बोलाएर आर्थिक अवस्था सन्तोषजनक रहेको ब्रिफिङ गरेको हो । विकास साझेदार दातृ संस्थाका प्रतिनिधिसामु अर्थमन्त्री डा.रामशरण महतले बजेटले लिएको लक्ष्य अनुसार आर्थिक वृद्धिदर हासिल नहुने देखिएपनि समग्र एसियाको अर्थतन्त्रको आधारमा नेपालको अर्थतन्त्र सकारात्मक रहेको दाबी गर्नुभयो । उहाँले खराब मौसम र बाढी पहिरोका कारण कृषि क्षेत्रमा असर गरेका कारण बजेटले लिएको लक्ष्य पूरा नहुने देखिएपनि ५ प्रतिशतको आर्थिक वृद्धि हुने र त्यसलाई सकारात्मक मान्नुपर्ने बताउनुभयो । चालु आर्थिक वर्षको बजेटमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिइएको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षाका क्रममा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन नसक्ने बताइसकेको छ । पूँजीगत बजेट खर्च गर्न नसकेकामा पनि सरकारको आलोचना भैरहेको छ । सरकारले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा पूँजीगत बजेट २० प्रतिशत मात्र खर्च गरेको छ । अर्थ मन्त्रालयको बजेट महाशाखाका अनुसार चालु खर्चको खर्चस्थिति पनि सन्तोषजनक छैन । पहिलो ८ महिनामा चालु खर्च पनि ४५ प्रशितभन्दा बढी खर्च हुन सकेको छैन । अर्थमन्त्री डा। महतले सार्वजनिक खरिद ऐनमा रहेको समस्याका कारण खर्चमा केही सुस्तता देखिएको बताउनुभयो । उहाँले विकास निर्माणका आयोजनामा लक्ष्य अनुसार खर्च नहुनुमा विकास साझेदारहरु पनि दोषी रहेको आरोप लगाउनुभयो । उहाँले विकास साझेदारले करोडौं रुपैयाँको भुक्तानी रोकेर राखेको भन्दै यसतर्फ आफ्ना कमजोरी सच्याउन विकास साझेदारका प्रतिनिधिलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया