धनगढी, ४ चैत । भारतीय बजारबाट आयात हुने खुर्सानी रोक्न सफल कैलाली स्थित रतनपुरका महिला यति बेला प्याज खेतीमा जुर्मुराएका छन् । खुर्सानी जस्तै प्याजमापनि गाउँलाई आत्मनिर्भर बनाउन र आम्दानी गर्ने उद्देश्यले उनीहरु सामूहिक प्याज खेतीमा सक्रिय भएका हुन । सधैंभरी भारतीय बजारबाट प्याज ल्याएर खानु पर्ने बाध्यता भएपछि उनीहरुले यसवर्षदेखि साढे नौ बिगाह जमिनमा प्याज खेती गरेका छन् ।
प्याज बेचेर आम्दानी गर्नुका साथै गाउँलाई प्याजमा आत्मनिर्भर बनाउन सामूहिक खेती गरेको समूहका अध्यक्ष सुन्दरी चौधरीले बताउनुभयो । समूहमा ६४ जना महिला आबद्ध छन् । प्रायः घरको कामकाजमा सिमित महिलालाई यो खेतीमा सक्रिय गराइएको छ । उनीहरुले गाउँमा उत्पादित प्याजलाई शीत भण्डारमा राख्ने र बर्खा याममा मात्रै बिक्री गर्ने बताएका छन् । अहिलेसम्म रतनपुरबासीले प्रायः भारतबाट आयातीत प्याज खाने गरेका छन् । नजिक रहेको भारतीय बजार चन्दन चौकीबाट प्याज किन्नु पर्ने वा गाउँमै बेच्न आएका भारतीय व्यापारीसंग लिनु पर्ने उनीहरुलाई बाध्यता छ । तर, अब भारतीय आयात रोकेर बरु उत्पादित प्याज भारतमै बिक्री गर्ने लक्ष्य रहेको उनीहरु बताउँछन् । कृषकहरु एक वर्षमा चार महिनासम्म धान, गहुँ खेतीको काम गर्ने गर्छन् । बाँकी आठ महिनासम्म उनीहरुको जीवन फुर्सदमै बित्छ ।
प्रतिक्रिया