काठमाडौं, ४ चैत । एकीकृत नेकपा माओवादीले सत्तारुढ दल संविधानसभाबाट संविधान निर्माण गर्ने पक्षमा नरहेको आरोप लगाउदै अबको आन्दोलनलाई निर्णायक बनाउने रणनिति तय गरेको छ । सहमतिबाट संविधान जारी गर्नका लागि वार्ता अघि बढाउन दिएको अल्टिेमेटमा सत्तारुढ दलले बेवास्ता गरेको भन्दै ३० दलीय मोर्चाले चरणबद्ध आन्दोलन घोषणा गरिसकेको सन्दर्भमा त्यसैलाई सहयोग पुग्ने गरी एकीकृत माओवादीको केन्द्रीय समितिले निर्णय गरेको हो ।
केन्द्रीय कार्यालय कोटेश्वरमा मंगलबार बसेको केन्द्रीय समिति बैठकले आगामी चैत १९, २४, २५ र २६ गतेको आम हड्ताललाई निर्णायक बनाउने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । विपक्षी गठबन्धको मोर्चाका संयोजक समेत रहेका पार्टी अध्यक्ष प्रचण्डले सहमतिको लागि प्रयास गर्न आग्रह गर्दा पनि सत्तारुढ दलले कात्तिक १७ गते गरेकै प्रस्तावमा छलफल गर्नुपर्ने प्रस्ताव अघि सारेकाले आन्दोलनमा जानुको विकल्प नरहेको निष्कर्षका साथ कार्यक्रम सार्वजनिक गरिएको प्रवक्ता सापकोटाले उल्लेख गर्नुभयो ।
कात्तिक १७ गतेकै प्रस्ताव अघि सारे पछि सत्तारुढ दलहरु संविधानसभाबाट सहमतिमा संविधान जारी गर्ने पक्षमा नरहेको आरोप पनि माओवादीले लगाएको छ । आन्दोलनबाट स्थापित भएका उपलब्धि र परिर्वतनका सम्पुर्ण आधारलाई एक एक गरी भत्काउने प्रयास सत्तारुढ दलबाट भएको निष्कर्ष पनि बैठकले निकालेको छ । यसअघि फागुन ३० गते एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको तीस दलीय मोर्चाको बैठकले सहमतिबाट संविधान जारी हुने अवस्था टरेको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो ।
प्रतिक्रिया