प्रवेशिका परीक्षा दिँदै आमा–हजुरआमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ चैत्र २०७१, बुधबार ०६:४२

 ‘अनपढ भनेर समाजका मानिसले गरेको अपहेलना सम्झदा आज पनि आँसु आउँछ’

भक्तपुर, चैत ३ – प्रवेशिका परीक्षा नजिकिँदै आएपछि केही आमा हजुरआमालाई यतिखेर चटारो परेको छ ।
मध्यपुरथिमी नगरपालिका– १५ गठ्ठाघरमा रहेको आस्था महिला विद्यालयबाट केही आमा हजुरआमा यही चैत ५ गतेदेखि सुरु हुने प्रवेशिका परीक्षाको तयारीमा व्यस्त छन् । काभ्रे घर भई हाल गठ्ठाघर बस्दै आउनुभएकी सुभद्रा खड्का हजुरआमा भइसक्नुभएको छ । कक्षा ६ सम्म गाउँमै पढेपछि छुटेको पढाइलाई छ वर्षअघि आस्थाबाटै निरन्तरता दिँदै उहाँ यस वर्ष प्रवेशिका परीक्षाको तयारीमा जुटेकी छिन् ।

उनले भनिन्,“जीवनमा यो अवसर पनि आउला भन्ने सोचेकै थिइन ।” तीन छोराकी आमा र एक नातिनीकी हजुरआमा खड्का भन्नुहुन्छ—“छुटेको पढाइलाई निरन्तरता दिएर एसएलसी दिउँला भन्ने सपना पूरा गर्ने अवसर आस्था महिला विद्यालयले जुराइदियो, अहिले परीक्षाकै तयारीमा छु, घरमा श्रीमान्देखि छोराहरुले समेत परीक्षालाई उत्तिकै सघाएका छन् ।” प्रवेशिका उत्तीर्ण गरेर कलेज पढ्ने धोको भएको बताउँदै उनेले आमा हजुरआमाहरुले पनि पढेर समाजलाई प्रेरणा दिन सक्ने आत्मविश्वास पोखिन् ।

अछामका जिल्ला शिक्षा अधिकारी जवाहरलाल हमालकी श्रीमती ४५ वर्षीया मायादेवी पनि प्रवेशिका परीक्षा दिन पाउने भएपछि असाध्यै खुसी छिन् । कर्णाली जुम्ला विराट –३ घर भई हाल धुन्चेपाखा बस्दै आउनुभएका उहाँ पनि पढेर प्रवेशिका परीक्षा दिन पाउँला भन्ने कहिल्यै नसोचेको बताउँछिन् । हमाल भन्छिन्–“पढेर एसएलसी परीक्षा दिउँला भन्ने सोचेकै थिइन तर श्रीमान् र साथी अर्चना रेग्मीको प्रेरणा एवम् सहयोगले यहाँसम्म आइपुगियो, सरकारी जागिर खाने उमेर गए पनि उच्च शिक्षासम्म पढ्ने धोको छ मेरो ।”

माइती जुम्लामा छोरी पढाउने संस्कार नहुँदा पढ्ने चाहनालाई मार्नु परे पनि भक्तपुरको बसाइपछि छ वर्षदेखि महिला विद्यालयमै पढेर परीक्षामा जुट्न पाउँदा विश्व नै जिते जस्तो लाग्छ उनलाई । आँखाभरि आँसु पार्दै उनले भनिन्—“अनपढ भनेर समाजका मानिसले गरेको अपहेलना सम्झदा आज पनि आँसु आउँछ, पढेर धेरै बाठी भएकी छु, अरुसँग बोल्न सक्ने भएकी छु, सबै कुरा बुझ्ने भएकी छु, अब एसएलसी पास गरेर अनपढ महिलालाई शिक्षा दिने चाहना छ ।”

कक्षा १२ पढ्ने छोरा र ११ पढ्ने छोरीसमेतले परीक्षाको तयारीमा सघाइरहेको बताउँदै उहाँले श्रीमान्ले स्कुल खोजेर भर्ना गरिदिँदा प्रवेशिका दिने अवसर मिलेको बताउँछिन् । हमालसँगै रुकुम मुसिकोट सोलावाङ घर भई हाल दुवाकोट बस्दै आउनुभएका ४५ वर्षीय देवकुमारी ओलीलाई पनि परीक्षाको उत्तिकै चटारो छ । उहाँलाई निर्वाचन आयोगका लेखा अधिकृत श्रीमान् पूर्णबहादुर ओली तथा एमबिबिएस र इन्जिनियर पढ्दै गरेका छोराछोरीको सहयोग पनि उत्तिकै छ ।

कक्षा ७ सम्म गाउँमै पढेर अधूरो भएको शिक्षा पूरा गर्न श्रीमान् आफैँले महिला विद्यालयमा ल्याएर कक्षा ७ मा भर्ना गरिदिएपछि अहिले प्रवेशिका दिन पाएको ओली बताउँछिन् । अधूरो पढाइ पूरा गर्न आउनुभएका सिरुटारकी रेश्मा थापा मात्रै होइन, अरुको घरमा काम गर्न बसेर परीक्षाको तयारीमा जुट्नुभएको उदयपुर घर भई बालकोट बस्ने शान्ता राई, धूम्रबाराहीदेखि गठ्ठाघरसम्म पढ्न आउने आरती थापामगरलगायत नियमिततर्फ १८ जनाले यस वर्ष परीक्षा दिँदैछन् ।

महिला विद्यालयका प्रधानाध्यापक पार्वती ज्ञवालीले यस वर्ष २० वर्षदेखि ४८ वर्षसम्मका महिलाले परीक्षा दिन लागेको बताउनुभयो । विसं २०६९ र २०७० मा पाँच जना महिलाले प्रथम र द्वितीय श्रेणीमा प्रवेशिका उत्तीर्ण गरेका थिए । यस वर्ष पनि नियमिततर्फ १८ र पुनःपरीक्षातर्फ आठ महिलाले परीक्षा दिने भएका छन् ।
पुनःपरीक्षातर्फ ५४ वर्षकी गायत्री बस्नेतले पनि परीक्षा दिन लाग्नुभएको छ । विद्यालयका सहायक प्रअ बिना देउजाले यस वर्ष जिल्ला शिक्षा अधिकारी, सरकारी अधिकृतदेखि पत्रकारका श्रीमतीसमेत परीक्षा दिने तयारीमा जुटेको जानकारी दिइन् । विद्यालयमा हाल ३०० महिलाले अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१