फुटवलमा उपलब्धी विनाको लगानी, ‘भलिवलमा शुन्य’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ चैत्र २०७१, आईतवार १७:०२

काशी पोख्रेल

बाँके,१ चैत । कम उमेरमै खेलकुद जगतमा उत्कृष्ट प्रगति गर्न सफल नेपालका महिला राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङ्ग अहिले नायिकाको सूचीमा पनि परेकी छिन् । जसले सानो उमेरमै खेलकुद क्षेत्रमा राष्ट्रलाई उल्लेखनीय योगदान दिएकी छिन् । पोखरा उपमहानगरपालिका–१५ रामबजार, कास्की स्थायी घर भएकी सिपोरा भलिबल खेलाडी हुन् । नेपालगन्जमा गतसाता भएको प्रधानमन्त्री कप इन्डो–नेपाल महिला आमन्त्रण भलिवल प्रतियोगितामा उनी मध्यमाञ्चलको टोलीमा सहभागि थिइन् ।
११ बर्षकै उमेरदेखि भलिवल खेल्न थालेकी सिपोरा अहिले नायिकाका रुपमा पनि परिचित भएकी छन् । चलचित्र घलेक, द साइन अफ लभ र एम्फावती द प्रिन्सिेसमा उनले आफ्नो भूमिका निभाएकी छिन् । कुनै चलचित्र कि नायिकाभन्दा उनको सुन्दरता कमी छैन । त्यसैले पनि पछिल्लो समयमा चलचित्रमा उनको उदय भएको हुनसक्छ । तर उनलाई भने त्यसो लाग्दैन । उनी भन्छिन्, ‘मसँग आत्मविश्वास छ । सामाजिक कुरितीहरुलाई चिर्नका लागि पनि मैले चलचित्रमा प्रवेश गरेकी हुँ ।’
siparoसिपोरा चलचित्र घलेकमा एक बर्मेली युवतीको भुमिकामा देखिएकी छन् । ‘यो चलचित्रमा मलाई नेपाली बोल्नै नआउने पात्रको रुपमा देखाइएको छ,’ भलिवल खेलाडी सिपोराले भनिन् । उनीले पछिल्लो समयमा चलचित्र क्षेत्रसँग जोडिए पनि खेलप्रतिको लगावलाई छोडेकी छैनन् । तर उनी भलिवल खेलमा सरकारले गर्ने लगानीप्रति सन्तुष्ट छैनन् । उनी भन्छिन्, ‘सरकारले फुटवलमा उपलब्धी विनाको लगानी गरिरहेको छ । तर भलिवलमा लगानी शुन्य छ । राज्यले अहिले पनि भलिवल खेललाई सौतेलो व्यवहारले हेर्ने गरेको छ ।’ नियमित रुपमा भलिवल खेल नभएकै कारण आफ्नै स्वमूल्यांकन नहुने उनको भनाई छ ।
‘नियमित रुपमा खेलहरु भएमात्रै खेलाडीहरुको क्षमतामा पनि विकास हुन्छ । नेपालमा प्रतिश्पर्धा नै हुँदैनन् । त्यसैले पनि आफ्नै पाराले जति खेल्यो त्यतिमै आफू राम्रो छु भन्ने हुन्छ । प्रतिश्पर्धा कोसँग गर्ने भन्ने समस्या छ । वर्षमा एक÷दुई पटक हुने खेलले खेलाडीहरुको कार्यक्षमतामा वृद्धि हुँदैन’, सिपोराले भनिन् । २१ बर्षिया सिपोरा अहिले व्यवस्थापन विषयमा स्नातक गर्दैछिन् । उनलाई भलिवल र चलचित्र दुवै क्षेत्र व्यवसायीक रुपमा अघि बढाउन सक्छु भन्ने लाग्दैन ।
उनी भन्छिन्, ‘दुवै क्षेत्रलाई हेर्ने हो भने नेपालमा जीवन निर्वाह गर्न सकिँदैन । कति समयसम्म यो क्षेत्रमा लाग्न सकिन्छ त्यसको कुनै टुंगो छैन । समयअनुसार भोली अर्कै पेशा पनि गर्न सकिन्छ ।’ ‘यी दुवै क्षेत्रमा भविष्य उज्जवल देख्दिन, त्यही भएर नै मैले व्यवस्थापन विषय पढ्दैछु । यसबाट भोलीका दिनमा रोजगार नपाउँदा आफै पनि व्यवसाय गर्न सकियोस्’, उनले हाँस्दै भनिन् । सिपोराले अहिलेसम्म आफूलाई यी दुवै क्षेत्रमा अघि बढ्नका लागि परिवारको राम्रो सहयोग रहेको बताइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१