एसिसी प्रिमियर लिग: आइतबार नेपाल र ओमान भिड्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ बैशाख २०७१, आईतवार ०६:२४

एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आफनो तेस्रो खेलमा आइतबार ओमानको सामना गर्ने भएको छ । मलेशियामा हुने प्रतियोगितामा दुई खेल खेलेको नेपाल लगातार दुवैमा जित हासिल गर्दै चार अङ्कका साथ रनरेटका आधारमा दोस्रो स्थानमा छ । यस्तै समान खेल खेलेको अफगानिस्तान चार अङ्कका साथ लिगको पहिलो स्थान तथा समान खेल खेलको ओमान पनि चार अङ्कका साथ लिगको तेस्रो स्थानमा छन् ।
यस्तै हङ्कङ, संयुक्त अरब इमिरेट्स (युएई) र मलेसिया रनरेटका आधारमा क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । समान दुई दुई खेल खेलेका तीन टोलीले दुई खेलमा नै हार भोग्दै अङ्क जोड्न सकेका छैनन् ।1908259_765539343470510_4095840421406545842_n
१८ वैशाखमा भएको पहिलो खेलमा नेपालले युएईलाई चार विकेटले पराजित गरेको थियो भने दोस्रो खेल १९ वैशाखमा आयोजक मलेशियालाई पाँच विकेटले पाखा लगाउँदै जित हासिल गरेको थियो ।
प्रतियोगितामा नेपालको लगातारको दोस्रो जितले आगामी डिसेम्बरमा युएइमा हुने एसिसी च्याम्पियनसिपका लागि लगभग छनोटसमेत भइसकेको छ ।
राउन्ड रोविन लिगका आधारमा हुने सो प्रतियोगितामा शीर्षस्थान हासिल गर्ने चार टोलीले एसिसी च्याम्पियनसिप खेल्न पाउनेछन् ।
यसअघि भएको अघिल्लो संस्करणको खेलमा नेपालले एसिसी एलिट कप प्रतियोगिताको उपाधि हासिल गरेको थियो । सन् २०१२ मा भएको एसिसी ट्रफी एलिट कप प्रतियोगिताको उत्कृष्ट छ टोली नेपालसहित हङकङ, अफगानिस्तान, ओमन, युएई र मलेसिया प्रतियोगितामा सहभागी छन् ।
एसियाली क्रिकेट परिषद् (एसिसी)को नयाँ संरचनाअनुसारको यो पहिलो प्रतियोगिता हो । सन् १९९६ देखि शुरु गरेको एसिसी ट्रफी इलिट कप प्रतियोगितालाई परिमार्जन गरी हाल एसिसीले एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको नयाँ नामकरण गरेको हो ।
रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१