काठमाडौं,१७ फागुन । विभिन्न संस्थाहरुको सहयोगमा ठमेलका सडकहरुमा २ करोड २ लाख ६० हजार रुपैयाँ खर्चेर सौर्य बत्ति जडान हुने भएको छ । सौर्य वत्ति जडान भएपछि ठमेल अव चौबीसै घण्टा झिलिमिली हुनेछ । ठमेल पर्यटन विकास परिषदले पहिलो चरणमा ठमेल जाने मुख्य बाटो त्रिदेवी मार्गवरपर १८ बत्ति जडान गरेको छ । यीबाहेक अन्य क्षेत्रमा पनि सौर्य बत्ति राख्ने तयारीमा परिषद छ । भित्री सडकहरुमा समेत गरेर कुल २ सय सौर्य बत्ति जडान हुनेछ ।
सौर्य बत्ति जडानमा टानले १५ लाख, नेपाल पर्यटन बोर्डले १५ लाख र विभिन्न १६ वटा बैंक तथा फाइनान्स, विद्युत प्राधिकरण तथा अन्य व्यवसायिक संस्थाको गरी जम्मा २ करोड २ लाख ६० हजार रुपैयाँ लागतमा विद्युत जडान हुने बताइएको छ । यसैबीच ठमेलमा राखिएका ८ वटा सीसीटीभीलाई नजिकको दुरीमा राखेर अत्याधुनिक क्यामेरा पनि थप्ने परिषदले जनाएको छ । यसले गर्दा ठमेलमा हुने अवाञ्छित घटनाहरु रोक्न पनि सहयोग पुग्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया