होस् गर्नुस् : इमेल तथा सामाजिक सञ्जाल थाहा नपाई ह्याक हुन सक्छ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ फाल्गुन २०७१, बिहीबार १३:०३

तपाईंको इमेल तथा सामाजिक सञ्जाल कतिको सुरक्षित छ ? तपार्इंको कम्प्युटर तथा महत्वपूर्ण सामग्रीलाई कसरी सुरक्षित राख्नुभएको छ ? कतै तपाईंको महत्वपूर्ण सूचना थाहा नपाइकन चोरी त भएको छैन ? थाहा नपाइकन चोरी हुने ती सूचनाको सुरक्षाका लागि के कस्तो उपाय अपनाउनुभएको छ ? लामो समय लगाएर सङ्कलन गरिएको सूचना एकाएक हराउँदा त्यसले दिने तनाब कति पीडादायी होला सहजै अनुमान गर्न सकिन्छ । विज्ञान तथा प्रविधिका क्षेत्रमा भएको उच्चतम विकासले नागरिकलाई सहज पारिदिए पनि त्यसको नकारात्मक प्रयोग गरी आफ्नो स्वार्थसिद्ध गर्न लाग्ने संस्थागत समूहका कारण मानिस हैरानी र परेसानी व्यहोर्न बाध्य भएका छन् । कम्प्युटरका महत्वपूर्ण सूचना जोगाउन सामान्य सुरक्षात्मक उपाय अपनाए मात्रै पनि हैरानी र तनाब ब्यहोर्नुपर्ने छैन ।

emailयसै विषयमा जानकारी दिनका लागि सूचना प्रविधि सुरक्षा आकस्मिक पहुँच समूह नेपालले साइबर सुरक्षा र साइबर कानुनसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ । शुक्रबारदेखि सुरु भएको सम्मेलनमा बैंकिङ सुरक्षा र त्यसमा अपनाउनुपर्ने उपाय, इ–गभर्मेन्स र सूचना प्रविधि सुरक्षा, डिजिटल फरेन्सिक प्रविधि, नमुना र उपाय, दुर्घटनापछि अपनाइने सुरक्षाका उपाय, साइबर सुरक्षा र कानुनका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञले तालिम दिने छन् । इमेल, इन्टरनेट, सामाजिक सञ्जाल तथा अन्य महत्वपूर्ण सूचनाको सुरक्षाका लागि अपनाइने विधि तथा प्रविधि नागरिकमा पु¥याउने र त्यसका लागि सहज तथा व्यावहारिक उपाय अपनाउने विषयमा सम्मेलनले ठोस कार्ययोजनासमेत तय गर्नेछ ।
सम्मेलनको उद्घाटन गर्दै सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव पुरुषोत्तम तिवारीले सूचना प्रविधिको विकास र विस्तारसँगै गलत मनशायका साथ काम गर्ने प्रवृत्तिलाई निरुत्साहन गर्न साझा प्रतिबद्धताको जरुरी रहेको बताउनुभयो । उहाँले सूचना प्रविधिले पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि यस क्षेत्रमा लागेकाले बाटो देखाउनुपर्ने बताउनुभयो । सूचना प्रविधि विभागका महानिर्देशक वीरेन्द्र मिश्रले सामान्यता वेबसाइट, इमेल, सामाजिक सञ्जालका एकाउन्ट ह्याक गर्नुलाई साइबर अपराधका रुपमा लिने गरिएको र त्यसको नियन्त्रणका लागिसरकारले प्रभावकारी कदम चालेको जानकारी दिनुभयो ।
नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले हरेक वर्ष २० भन्दा बढी साइबर अपराधसम्बन्धी मुद्दा हेर्ने गरेको र त्यो सङ्ख्या पछिल्लो दिनमा बढ्दै गएकाले थप सुरक्षात्मक उपाय अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सरकारले चालु आवको बजेट वक्तव्यमा साइबर सुरक्षा र अपराध नियन्त्रणका लागि पर्याप्त बजेटको व्यवस्था गरेको तथा सुरक्षाका उपाय थप सुदृढीकरण गर्ने योजनासमेत अगाडि सारेको जानकारी उहाँले दिनुभयो । सूचना प्रविधि सुरक्षा आकस्मिक पहुँच समूह नेपालका अध्यक्ष राजनराज पन्तले सूचना प्रविधिमा सहजतासँगै आपराधिक मानसिकतासमेत बढेकाले त्यसको नियन्त्रणका लागि सरकार र निजी क्षेत्र दुवै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
भारतका सूचना प्रविधि विज्ञ विवेक श्रीवास्तवले वेबसाइट र सामाजिक सञ्जालका भित्तामा देखिएका आकर्षक तस्बिर तथा विज्ञापनप्रति सचेत रहनुपर्नेमा जोड दिँदै त्यस्ता सूचना वा तस्बिर देखिएमा त्यसलाई वास्ता नगर्न सचेत गराउनुभयो ।
उहाँका अनुसार हरेक दिन १६ लाखभन्दा बढी विश्वभरका वेबसाइट ह्याकरको निशानामा पर्ने गरेको र ९३ लाख इमेल प्रभावित हुने गरेको छ ।
अस्टे«लियाका विज्ञ चम्पिका विजयातुङ्गाले साइबर अपराध नियन्त्रणका लागि सञ्चार प्रविधिका क्षेत्रमा लागेकाहरूको साझा प्रतिबद्धताको जरुरत रहेको बताउनुभयो । साइबर सुरक्षाका लागि अङ्क तथा अक्षरसहितको पासवर्ड राख्नुपर्ने, बैंक खाता, तथा एटिएम कार्डको पिन नं लेखेर राख्न नहुने र वेब पेज सुरक्षित बनाउन इन्टरनेट सुरक्षाका प्रभावकारी उपाय अपनाउनुपर्नेमा जोड दिइएको छ ।
सम्मेलनमा नेपाल, भारत, अस्ट्रेलिया, सिङ्गापुर, जापानलगायत मुलुकका एकसय प्रतिनिधिको सहभागिता छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१