लमजुङ,१४ फागुन । कुनै समय विश्वकै १० उत्कृष्ट पदमार्गमा गनिने चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकको संख्या घट्न थालेको छ । ५ वर्ष लगातार बढ्दै गएपनि पर्यटक आगमन सन् २०१२ मा केही ह्रास आएसँगै फेरि घट्न थालेको हो । सन् २०१३ मा २१ हजार २ सय ७ जना विदेशी नागरिकले लमजुङ र मनाङ हुँदै चक्रीय अन्नपूर्ण पदमार्गको भ्रमण गरेकोमा सन् २०१४ मा २० हजार ६ सय ९४ जना पर्यटकले अन्नपूर्ण पदमार्गको भ्रमण गरेका छन् । तुलानात्मक रुपमा २ प्रतिशतले पर्यटक आगमन घटेको हो ।
सन् २०१२ मा १९ हजार ४ सय ९९ पर्यटकले अन्नपूर्ण चक्रीय पदमार्गको भ्रमण गरेका थिए, यो सन् २०११ को तुलनामा १ प्रतिशतले घटेको हो । सन् २०१२ को तुलनामा २०१३ मा भने ९ प्रतिशतले बढेको थियो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको पर्यटक चेकजाँच तथा सूचना केन्द्र धारापानी मनाङका अनुसार सन् २०१३ को तुलानामा सन् २०१४ मा ५ सय १३ जना पर्यटक घटेको छ । २०१३ को तुलानामा २०१४ मा जनवरीदेखि अगष्टसम्मको ८ महिनासम्म पर्यटकको संख्या बढ्दै गएपनि सेप्टेम्बरदेखि डिसेम्बरसम्म पर्यटक आगमनमा ह्रास आएको एक्याप मनाङका वरिष्ठ लेखा तथा प्रशासन सहायक कैलाश तिवारीले बताउनुभयो ।
प्रतिक्रिया