तन्नम बनाईदै टान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ फाल्गुन २०७१, मंगलवार ०७:४९

योगेश ढकाल,काठमाडौं – टेकिङ एजेन्सिज् एशोसियशन अफ नेपाल(टान)का पदाधिकारीले कुनै हिसाब नराखेर खर्च गरेर टानको बजेट सिध्याउने गरेको तथ्य सार्वजनिक भएको छ ।

टानका अध्यक्ष रमेश  धमला, महासचिव सागर पाण्डे र कोषाध्यक्ष गोपालबाबु श्रेष्ठसहितको टोलीले जथाभावी रकम खर्च गर्ने गरेको तथ्य सार्वजनिक भएको हो । आफू नजिककालाई ‘डोनेशन’ दिने तथा कार्यालय प्रयोजनका सामाग्री खरिद गर्ने, विदेश भ्रमण गर्ने गरेको पाइएको हो । यसरी खर्च भएको रकम कार्यसमितिका अन्य सदस्यलाई कुनै जानकारी नदिईएको  समितिका एक सदस्यको भनाइ छ ।

अनियमिताको अगुवाई गर्दै धमला

वैठक बसेको बेला माइन्युट नलेख्ने र पदाधिकारीलाई अनुकुल हुने समयमा कम्युटर टाइप गरेर वैठक पुस्तिकामा निर्णय टास्ने गरेको पनि कार्यसमितिका सदस्यहरुको आरोप छ ।  त्यसैगरी, टानका पदाधिकारी टानको खर्चमा अमेरिका, जापान, ल्हासा,सिक्किम घुम्न गएको भन्दै भ्रमणको बारेमा पनि विवाद सुरु भएको छ ।

अध्यक्ष धमला टानको खर्चमा जापान गएको ,राजेन्द्र सापकोटा,पासाङ शेपालगायतको टोली अमेरिका गएको भन्दै पर्यटन व्यवसायीले प्रश्न उठाउन थालेका छन् । पर्यटन व्यवसायी तथा नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य गणेश सिम्खडाले अध्यक्ष धमलालाई टानमा अनियमितता बढेको भन्दै केही दिन पहिला आपत्ति जनाइसकेका छन् । नेपाल पर्यटन बोर्डमा आर्थिक अनियमितता भयो भनेर आन्दोलनको नेतृत्व टानका अध्यक्ष रमेश धमलाले गरेका थिए ।

धमला टानमा निर्वाचित भएर आएको एक बर्षमा डिएफआईडीको करिब ५ करोड रुपैयाँ र टानको करिब १ करोड गरी करिब ६ करोड रुपैयाँ अनियमितता भइसकेको व्यवसायीको आरोप छ । डिएफआइडीले दिएको रकम धमलाले आफ्नो जिल्ला धादिङ लगेका थिए । गणेश हिमाल क्षेत्रको प्रचारप्रसारका लागि भन्दै उक्त रकम खर्चिएको स्रोतको भनाई छ ।

टानमा निर्वाचित भएर आएको एक महिना नपुग्दै २०७० माघ पहिलो हप्ता धमलाको टोली गणेश हिमाल क्षेत्र घुमेर उक्त रकम सिध्याएको थियो । आर्थिक मामिलामा पहिलादेखि नै विवादमा आउने धमलाले टानमा गरेको गरेको हमलाले बोर्डको भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनको नैतिकतामाथि नै प्रश्न उठ्न थालेको पनि व्यवसायीहरुको भनाइ छ ।

घरघर पुगे ल्यापटपदेखि ए.सी.सम्म

टानको कोषबाट खरिद गरिएका सामाग्रीहरु बेपत्ता बनाउने गरेको भेटिएको छ । टानको लेखापरीक्षण गरेको जे एण्ड एशोसियट्स कम्पनीले यस्ता सामाग्रीको फेहरिस्त उल्लेख गरेको छ । टानको अध्यक्षमा रमेश धमलासहितको टोली आएपछि मात्रै ल्यापटप खरिद गर्ने, कम्युटर खरिद गर्ने, एसी खरिद गर्ने तथा कार्यालयको प्रयोजनका लागि खरिद गरिएको भनिएका सामानको बिल छन् तर समान छैनन् ।

२०७० फागुन १४ गतेको भौचर नम्बर १ मा कार्यालय प्रयोजनका लागि फर्निचरलगायत सामाग्री १ लाख ७० हजार ७ सय ५० रुपैयामा खरिद गरिएको उल्लेख छ । प्रकाश केसीद्धारा खरिद गरिएको भने पनि उनको ठेगाना भौचर र वील भरपाईमा उल्लेख गरिएको छैन । सामान कार्यालयमा भेटिएका पनि छैनन ।

त्यसैगरी,२०७० चैत्र २८ गते मर्कटायल अफिस सिष्टमबाट ८० हजार रुपैयाको ल्यापटप तथा नोटबुकहरु २ लाख २६ हजार रुपैयाँमा खरिद गरिएको थियो । टानको भौचर नम्बर २ मा उल्लेख ती सामान कार्यालयको रेकर्डमा नभेटिएको लेखापरीक्षण कम्पनीले उल्लेख गरेको छ । २०७१ वैशाख १२ गते तीन वटा डेस्कटप कम्युटर एकवटा २ जीवीको ग्राफिक कार्डलगायत खरिद गरिएको थियो । प्लस मल्टिसिष्टम प्रालिबाट २ लाख २२ हजार ४५ रुपैयाँमा खरिद गरिएको भएपनि टानको कार्यालयमा भने रेकर्ड भेटिएको छैन ।

२०७१ वैशाख १८ गते २४ हजारमा खरिद गरेको एउटा क्याननको प्रिन्टरको रेकर्डमा पनि भेटिएको छैन । प्रिन्टर खरिद गरेको १० दिनपछि वैशाख  २८ गते टेक्नो टे«ड प्रालिबाट १ लाख २१ हजार ५ सय ८२ रुपैयामा खरिद गरिएको एसी(वातानुकुलित) को अतोपत्तो छैन ।

टानका कुन पदाधिकारीले घरमा लगे भन्ने अहिलेसम्म खुल्न सकेको छैन । २०७१ जेठ ६ गते ८ लाख ४४ हजार ७ सय १२ रुपैयाँमा खरिद गरिएका विभिन्न फर्निचर पनि टानको कार्यालयमा छैन ।  २०७१ असार १९ गते क्याननको ८ जीबीको ३ वटा भ्वाइस रेकर्डर ८४ हजार ७ सय ५० मा  खरिद गरेको भन्दै टानबाट भुक्तानी गरिएको देखिन्छ तर ती सामान पनि टानको कार्यालयमा भने छैनन ।

दनादन ‘डोनेशन’

टानका पदाधिकारीले मनलाग्दी डोनेशन दिएको पनि भेटिएको छ । त्यसरी दिएका डोनेशनको कतिपयको रेकर्ड नभएको र अधिकांशको रकम बुझिलिएको नगदी रसिदसमेत भेटिएका छैनन । विना निवेदन, विना नगदी रसिद तथा कार्यक्रम विशिष्टिकृत नभई दनादन रकम बाँडेको लेखा परिक्षणको क्रममा भेटिएको हो ।

टानले एक बर्षमा मात्रैमा डोनेशन भन्दै ४६ लाख ७७ हजार १ सय ९५ रुपैया ३३ पैसा बाँडेको छ । बाँडिएको रकमको नगदी रसिद छैन । २०७० माघ ३ गते पर्यटन व्यावसायीहरुको संगठन पाटालाई तालिम तथा वर्कसप कार्यक्रमका लागि २ लाख ५०हजार  दिएको उल्लेख   छ । प्रर्याप्त कारण नदिई  रकम दिएको लेखापरिक्षणले औल्याएको छ ।

२०७० माघ ३  विना नगदी रसिद धादिङ जिल्ला उद्योग बाणिज्य संघलाई ८० हजार टानले दिएको छ भने २०७० माघ २६ गते कागजात विना नै ग्लोबल इन्कुल्सिभ एडभेन्चर अर्गनाइजेशनलाई ६ लाख ९३ हजार रुपैयाँ, २०७० चैत्र २८ गते लाङटाङ टुरिजम एण्ड कन्जरभेशन उत्सवका लागि १ लाख ५० हजार रुपैयाँ दिएको छ ।

उत्सवको पुरस्कारका लागि नगद १ लाख, मेडल,ट्रफी र प्रमाणपत्रका लागि २५ हजार रुपैयाँ दिनुपर्नेमा टानले २५ हजार बढी रकम भुक्तानी गरेको छ । पर्यटनसँग असम्बन्धीत कार्यक्रमका लागि टोखा युथ क्लवलाई २० हजार रुपैयाँ, नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखालाई ५९ हजार रुपैयाँमा २ वटा डेस्कटप कम्प्युटर दिएको लगायतका अनियमितताको लामो फेहरिस्त लेखापरिक्षकले निकालेको   छ ।

रक्सी पिउनै यत्रो रकम ?

लेखापरिक्षण क्रममा टानले आयोजना गरेको एउटा कार्यक्रममा मदिरामा खर्चिएको रकमको हिस्सा देखेर चकित पर्नुपर्ने अवस्था छ । टानको उद्देश्य र क्षेत्राधिकारभन्दा बाहिरको उक्त कार्यक्रममा यति धेरै रकम खर्चिदा टानका कर्मचारी तथा अन्य सदस्य चुपचाप छन ।  भौचर नम्बर ८ र ९ अनुसार १३ फागुन २०७० मा टानले मनाएको ल्होसार कार्यक्रममा २० लाख ९८ हजार ४सय ५० रुपैयाँ खर्चिएको छ । जुन कार्यक्रम पर्यटनसँग सम्बन्धित भए पनि टानको उद्देश्य र क्षेत्राधिकारमा पर्दैन ।

साँस्कृतिक कार्यक्रम टानको जिम्मेवारीमा पदैन । तर, सो कार्यक्रममा व्रेकफास्ट, डिनर एण्ड स्नास्कमा १० लाख ७५ हजार ५ सय ३० रुपैया र हार्ड ड्रिंक्समा २ लाख ७९ हजार ८१ रुपैयाँ खर्च गरेको छ । उक्त कार्यक्रममा सांस्कृतिक कार्यक्रम प्रर्दशनका लागि ७ लाख ४३ हजार ८ सय ३९ रुपैया खर्च भएको उल्लेख छ ।

टानको लेखामा उक्त कार्यक्रमका लागि ५ लाख २७ हजार ४ सय १९ रुपैयाँ आम्दानी भएको उल्लेख छ । तर, खर्च भने २० लाखभन्दा बढी गरेको छ । टानको अध्यक्षमा धमला आएलगत्तै गरिएको दोस्रो ठूलो,महंगो र टानको उद्देश्य विपरीत गरिएको कार्यक्रम थियो । टानको पोखरा च्याप्टरले मनाएको ल्होसार कार्यक्रममा पनि अनियमितता भएको छ । उक्त कार्यक्रममा भएको केही खर्च हातले लेखिएको बीललाई आधिकारीक मानेर रकम भुक्तानी गरिएको लेखापरीक्षणमा उल्लेख छ ।

भ्रष्टाचार भएकै छ -व्यवसायी

टानमा विगतदेखि नै आर्थिक अनियमितता हुने गरेको पर्यटन व्यवसायीको भनाइ छ । व्यवसायीको चर्को आलोचनापछि दुई बर्ष पहिला वर्तमान टानका अध्यक्ष रमेश धमलाकै नेतृत्वमा नवराज दाहाल, राजेन्द्र सापकोटा सदस्य रहेको छानविन समिति गठन भएको थियो । धमला समितिले टानमा आर्थिक अनियमितता हुने गरेको र त्यसको अन्त्यका लागि भन्दै केही सुझावसहितको प्रतिवेदन तयार गरेको   थियो । तर, २०७० पुसमा टानको अध्यक्षमा निर्वाचित भएपछि धमला नै आर्थिक अनियमिततामा लागेको पर्यटन व्यवसायी गणेश सिम्खडाले बताए ।

‘टानको पैसामाअनावश्यक विदेश घुम्ने, विना विल र नगदी रसिद रकम भुक्तानी गर्ने देखिएको छ । यस्तो अनियमित कार्यको हामीले विरोध गर्न थालिसकेको छौं । यो अनियमिततालाई स्वीकार गर्न सक्ने अवस्था छैन । त्यही कारण मैले अध्यक्ष धमलालाई भनिसकेको छु, आउँदा दिनमा टानमा हाम्रा साथीहरुको भूमिका चर्को रुपमा आउनेछ’ सिम्खडाले टेलिफोनमा भने । नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्यसमेत रहेका सिम्खडा र उनको टोली नै टानमा अध्यक्ष्ँमा धमला र महासचिवमा सागर पाण्डेसहितको टोलीलाई टानमा ल्याउन लागिपरेको थियो ।

यो आर्थिक अनियमितताको बारेमा बुझ्न अध्यक्ष्ँ धमलालाई पटकपटक टेलिफोन गर्दा पनि उनले रिसिभ गरेनन । कहिले मोबाइल स्वीच अफ गर्ने र कहिले कलव्याक गर्ने तर अरुसंगै कुुरा गर्ने गरेर कुराकानी गर्न टार्दै आएका छन । टानका कोषाध्यक्ष्ँ गोपालबाबु श्रेष्ठको मोवाइल स्वीच अफ थियो भने सचिव पासाङ शेर्पाले पछि फोन गर्छु भने कुरा गर्न मानेनन । ‘म अहिले अफिसमा वैठकमा छु । म तपाईसग पछि कुरा गर्छु’ शेर्पाले भने ।

स्रोत – टुरिजम समाचार

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१