शैक्षिक योग्यता प्रमाणीकरण गरिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० फाल्गुन २०७१, आईतवार ११:१५

काठमाडौं,१० फागुन । अनौपचारिक माध्यमबाट अध्ययन गरेकाहरुको शैक्षिकस्तर प्रमाणीकरण गरिने भएको छ । बीचैमा पढाइ छाडेका, विद्यालयको पहुँच नभएका तथा विभिन्न कारणले विद्यालयमा जान नसकेकाहरुले अनौपचारिक माध्यमबाट स्वअध्ययन गर्ने गरेका छन् । उनीहरुले प्राप्त गरेको अध्ययनको समकक्षता निर्धारण गर्ने प्रचलन हालसम्म छैन । अनौपचारिक शिक्षा केन्द्रका उपनिर्देशक विष्णु मिश्रले पहिलोपटक साधारण शिक्षा आर्जन गरेकाहरुको शैक्षिक योग्यता परीक्षण गरी प्रमाणीकरण गर्ने कार्य छिटै कार्यान्वयनमा ल्याउन लागिएको जानकारी दिँदै भन्नुभयो, “व्यक्तिले प्राप्त गरेको शिक्षाको स्तर प्रमाणीकरण गरिदिनुपर्दछ । प्रमाणीकरणका आधारमा व्यक्तिले त्यसभन्दा माथिल्लो तह अध्ययनका लागि विद्यालयमा भर्ना हुन सक्नेछ । त्यस्तो प्रमाणीकरणकै आधारमा व्यक्तिले रोजगारी प्राप्त गर्नसक्ने छ ।” हाल प्राविधिक शिक्षा तथा व्यावायिक तालिम परिषद् (सीटीईभीटी)ले प्राविधिक शिक्षातर्फ अनौपचारिक माध्यमबाट प्राप्त ज्ञान र सीपका आधारमा तहको समकक्षता निर्धारण गरिदिने गरेको छ । साधारण शिक्षातर्फ यस्तो व्यवस्था हालसम्म हुन सकेको छैन ।

eduशिक्षा नियमावलीले विद्यार्थीको क्षमताका आधारमा कक्षामा भर्ना हुन पाउने व्यवस्था गरेको छ । विद्यार्थीको क्षमताको परीक्षण विद्यालय आफैले गर्ने गरेको र त्यसैका आधारमा उपयुक्त तह निर्धारण गरी विद्यार्थीलाई भर्ना गर्ने गरिएको छ ।  “तर विद्यार्थीलाई उसको प्रमाणपत्रका आधारमा भर्ना गरिनुपर्दछ” उपनिर्देशक मिश्रले भन्नुभयो, “अनौपचारिक शिक्षाबाट अध्ययन गरेकाहरुको प्रमाणीकरणको प्रमाणपत्र राज्यले दिनेछ । उ कुन तहमा भर्ना भई अध्ययन गर्न सक्नेछ वा उसको शैक्षिक योग्यता कुन तहको हो भन्ने निक्र्याैल विद्यालयले होइन राज्यले गर्नेछ ।” विद्यालय जान नसक्ने वा विद्यालयको पहुँच बाहिर रहेकाहरु घरमै बसेर स्वअध्ययन गर्ने प्रचलन पनि छ । विद्यालय नियमित रुपमा जान नसक्नेहरुका लागि वैकल्पिक कक्षा तथा दूर शिक्षाको व्यवस्था पनि छ । प्रौढ निरक्षरहरुका लागि साक्षरता कक्षा सञ्चालन गर्ने गरिएको छ । देशमा ३७ वटा वैकल्पिक विद्यालयहरु छन् । ती विद्यालयहरुमा तीन वर्ष अध्ययन गरेर प्राथमिक तह (कक्षा १–५), दुई वर्षमा निम्नमाध्यमिक तह (कक्षा ६–८) र एक वर्षमा माध्यमिक तह (कक्षा ९ र १०) पूरा गर्न सक्ने व्यवस्था भए पनि त्यस्ता विद्यालयहरुको पहुँच सबैसँग छैन । ती बाहेक देशभरि ८५ खुला विद्यालय सञ्चालित छन् र तिनमा कक्षा १० को शैक्षिक कार्यक्रम सञ्चालन हुने गरेका छन् । कम सङ्ख्यामा सञ्चालित त्यस्ता विद्यालयको पहुँच पनि चाहेका सबै व्यक्तिसम्म पुग्न सकेको छैन । अनौपचारिक रुपमा शिक्षा आर्जन गरेकाहरुको स्तर प्रमाणीकरण गर्ने निकायका बारेमा अझैसम्म प्रष्ट भइसकेको अवस्था छैन ।

अनौपचारिक शिक्षा केन्द्रका उपनिर्देशक मिश्रले प्रमाणीकरण गर्न परीक्षण केन्द्रहरु कायम गरिने जानकारी दिँदै भन्नुभयो, “कुनै पनि व्यक्ति जुनसुकै बखतमा पनि प्रमाणीकरणका लागि परीक्षण केन्द्रसम्म पुग्न सक्दछ । परीक्षण केन्द्रले निश्चित परीक्षा सञ्चालन गरी उसको ज्ञान र सीपका आधारमा स्तर प्रमाणीकरण गरिदिने छ ।” उहाँका अनुसार कक्षा १२ सम्मको अनौपचारिक शिक्षालाई औपचारिकको समकक्षता निर्धारण गर्ने योजना तर्जुमा गरिएको छ । यससम्बन्धी तयार पारिएको मस्यौदा अनुसार व्यक्तिले प्राप्त गरेको शिक्षाको योग्यता निर्धारण गर्दा सम्बन्धित व्यक्तिले तोकिएको मापदण्डको परीक्षामा सम्मिलित भई उत्तीर्ण हुनै पर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१