काठमाडौं,८ फागुन । एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत् आज आयोजक न्यूजिल्यान्ड र इंग्ल्यान्ड भिडिरहेका छन् । न्यूजिल्यान्डको वेलिङ्टनमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले फितलो प्रदर्शन गर्दै १ सय २३ रन मात्रै जोडेको छ । जवाफमा १ सय २४ रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्डले खाना समयसम्म ९ ओभरको समाप्तीमा १ विकेट गुमाएर १ सय १२ रन जोडिसकेको छ । न्यूजिल्यान्डका लागि विस्फोटक ब्याटिङ गरेका ब्रेन्डन म्याक्कुलमले ७७ रन जोडेका छन् । २५ बल सामना गरेका म्याक्कुलमले ७ छक्का र ८ चौका प्रहार गरेका थिए ।
यसअघि इंंग्लिस इनिलाई ध्वस्त पार्नेक्रममा न्यूजिल्यान्डका तीव्र गतिका बलर टिम साउदीले उत्कृष्ट बलिङ गर्दै ९ ओभरमा ३३ रन खर्चेर ७ विकेट लिएका थिए । विश्वकप क्रिकेटको एकै खेलमा ७ विकेट लिने साउदी चौथो बलर बनेका छन् । विश्वकपमा हालसम्म कसैले पनि ८ विकेट लिन सकेका छैनन् ।
सुरुदेखि नै धरमराएको इंग्लिस इनिङलाई समाल्ने प्रयासमा जो रुटले ४६ रन जोडे भने मोइन अलीले २० रन जोडे । पछिल्लो समय निकै उत्कृष्ट फर्ममा रहेको न्यूजिल्यान्डको जारी विश्वकपमा यो तेस्रो खेल हो । यसअघिका दुई खेल जितेको न्यूजिल्यान्ड आज लगातार तेस्रो जितको खोजीमा छ । पहिलो खेलमा श्रीलंकालाई हराएको न्यूजिल्यान्डले दोस्रो खेलमा स्कटल्यान्डलाई निराश पारेको थियो । अर्कोतर्फ पहिलो खेलमा अर्को आयोजक टोली अष्ट्रेलियासँग हारेको इंग्ल्यान्ड आज पहिलो जितको खोजीमा रहेको छ ।
प्रतिक्रिया